Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नगरलाई विव्यासको चुनौतीः पठाएका प्रअलाई हाजिर हुन दिइएन

    नगरलाई विव्यासको चुनौतीः पठाएका प्रअलाई हाजिर हुन दिइएन


    • सोमवार, माघ २९ २०८०

    • दमन राई


    नगरलाई विव्यासको चुनौतीः पठाएका प्रअलाई हाजिर हुन दिइएन
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय ।

    खोटाङ, २९ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको खावाडाँडास्थित सेती शितला आधारभुत विद्यालयमा कार्यरत शिक्षक घनश्याम आचार्य गत असोजमा प्रअका रुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित विद्योद्धय आधारभुत विद्यालय, छितातालमा सिफारिस भए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८० अनुसार सञ्चालन गरिएको परीक्षा उत्तिर्ण गरेपछि आचार्य विद्योद्धय आधारभुत विद्यालयमा नयाँ प्रअका रुपमा पठाइएका थिए । तर, विद्यालय व्यवस्थापन समितिले हाजिर गराउन अस्वीकार गरेपछि आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकै विद्योद्धय माविमा काजमा खटाइएको छ ।

    प्रधानाध्यापक छनोट समितिको असोज १० गतेको निर्णयअनुसार आचार्यले नगरपालिकाबाट असोज १६ गते प्रअको नियुक्ती लिएका थिए । प्रअका रुपमा खटाइएको विद्यालयमा हाजिर हुन नदिइएपछि नगरपालिकाले उनलाई पुस १२ गते विद्योद्धय माविमा पठाएको हो । प्रअको नियुक्ती लिएर जानु अगावै आचार्यले विद्यालयमा भएको बेथितिलाई ‘तह लाउँछु’ भन्ने अभिव्यक्ती दिएपछि उनलाई हाजिर नगराइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरे बताउँछन् । घिमिरेका अनुसार उनलाई विद्यालयले मागेकोबेला पठाउने गरी काजमा अर्को विद्यालयमा पठाइएको हो । आचार्यको कात्तिकदेखि पुससम्मको तलव सेती शितला आधारभुत विद्यालयमा निकासा भएको छ तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर राउलले चेकमा हस्ताक्षर गर्न नमानेकाले तलव निकाल्न नसकिएको आचार्यको गुनासो छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको जालपादेवी आधारभुत विद्यालयका राहत दरबन्दीका शिक्षक विनोद थापालाई सेती शितला आधारभुत विद्यालय पठाइयो तर थापालाई हाजिर हुन दिइएन । हाजिर हुन नदिइएपछि थापालाई काजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा आधारभुत विद्यालयमा लगिएको छ । राजनीतिक प्रतिशोधका आधारमा थापालाई हाजिर नगराइएको बुझिएको प्रवक्ता घिमिरेले बताए ।

    विद्यालयको गुणस्तर सुधार गर्ने नारासहित नगरपालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधिको दफा ४ अनुसार असार ३१ गते सूचना जारी गरेको थियो । सोही सुचनाको आधारमा मावि तहमा १७ जना, आधारभुत तह (कक्षा १–८) को प्रअमा ५ जना र आधारभुत तह (कक्षा १–५) को प्रअमा २८ जना उत्तिर्ण भएका थिए । जोश, जाँगर र ‘भिजन’ भएका केही नयाँ प्रअले विद्यालय सुधारको थालनी गरिसकेका छन् तर कतिपय नयाँ प्रअले विद्यालयलाई झन् अधो गतिमा लैजान थालेको गुनासो पनि आउन थालेका छन् ।

    नगरपालिकामा प्रधानाध्यपक छनौटका क्रममा कतिपय परिक्षार्थीलाई ‘नियतवस’ फेल गराइएको समेत चर्चा छ । प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधिमार्फत नगरपालिकाले ‘पहुँचवाला केही शिक्षकलाई’ प्रअका रुपमा व्यवस्थापन गर्ने खेल खेलेको आक्षेप लगाउने गरिएको छ । कतिसम्म भने सरस्वती माबि दिक्तेलको प्रअ फेर्नकैलागि प्रअ छनौट गर्ने प्रपञ्च रचिएको समेत भन्ने गरिन्छ । ‘केही शिक्षकलाई’ प्रअका रुपमा व्यवस्थापन गर्ने योजना अनुसार नै सावित्रा माबि बाम्राङका प्रअ शिवप्रसाद राई र कालिका माबि खार्मी देवान राईलाई फेल गराइएको शिक्षकमाझमै चर्चा छ ।

    नगरपालिकाको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि अनुसार सञ्चालन गरिएको परीक्षामा अनुत्तिर्ण भएका जनचेतना आधारभुत विद्यालय लफ्याङका मदन राई, पार्वती आधारभुत विद्यालय, खार्मीका शंखधन राई लगायत हाल पनि प्रअकै जिम्मेवारीमा छन् । नयाँ प्रअ छनौट गरेर नपठाउञ्जेलसम्मका लागि उनीहरुलाई निमित्त प्रअको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ । आफुले रोजेको स्कुलमा प्रअ बन्न नपाउने भएपछि कतिपय प्रअका परिक्षार्थी छनौट प्रकृयाबाट आफै बाहिरिएका थिए । ‘केही परिक्षार्थीले लिखितमा नाम निकाले तर पोष्टिङको बेला रोजेको स्कुलमा जान नपाउने भएपछि प्रकृयामै सहभागी भएनन्, जसका कारण प्रअको कोटै पुगेन,’ प्रवक्ता घिमिरेले भने, ‘अर्को चरणमा प्रअ छनौट गरेर पठाउने नगरपालिकाको तयारी छ ।’

    राहत दरबन्दीमा कार्यरत शिक्षकलाई प्रअको जिम्मेवारी नदिने भनिए पनि सावित्रा माबि बाम्राङमा मावि राहत कोटाका टंक भण्डारी, कालिका माबि खार्मीमा प्रकाश राई लगायत प्रअका रुपमा कार्यरत छन् । 

    सम्बन्धित समाचार