सोमवार, माघ २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ माघ । जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने/नदिने विषयमा खोटाङमा गाउँपालिका र सोही गाउँपालिकाको दुई वडा कार्यालयको निर्णय बाझिएको छ । फागुन १ गते पर्ने २९ औं जनयुद्ध दिवसको दिन खोटेहाङ गाउँपालिकाले सार्वजनिक विदा दिने सार्वजनिक सूचना जारी गरे लगत्तै सोही गाउँपालिकाको ७ नम्बर वडा कार्यालय खोटाङबजार र ४ नम्बर वडा कार्यालय बडकादियालेले सेवा प्रवाह सुचारु रहने सूचना जारी गरेको छ ।
गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले सोमबार सार्वजनिक विदा सम्वन्धी सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था लगायत सरकारी तथा गैर–सरकारी कार्यालय, संघ संस्था लगायतमा सार्वजनिक बिदा गरिएको जानकारी दिएका छन् । गाउँपालिकाले सार्वजनिक विदा दिएको सूचना जारी भएको केही समयपछि खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल र खोटेहाङ गाउँपालिका–४ बडकादियालेका वडाध्यक्ष तिलकबहादुर बस्नेतले सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन वडा कार्यालयवाट हुने सेवा प्रवाह सुचारु हुने जानकारी सहित वडाभित्रका सरकारी तथा गैर–सरकारी संघसस्थालाई कार्यालय सञ्चालन गर्न भनेका छन् । सर्वोच्च अदालतको फैसला र मन्त्री परिषदको माघ २५ गतेको बैठकको निर्णय तथा गृह–मन्त्रालयको माघ २९ को पत्र अनुसार जनयुद्ध दिवसमा सार्वजनिक विदा नरहेको वडा कार्यालयको सूचनामा उल्लेख छ ।
जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने/नदिने विषयमा दलीय आधारमा गाउँपालिका र दुई वडा कार्यालयको मत बाझिएको हो । गाउँपालिका अध्यक्ष राई गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । वडाध्यक्ष फुयाँल र बस्नेत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । माओवादी केन्द्र सम्वद्ध नेता तथा कार्यकर्ताले जनयुद्ध दिवसमा विदा दिने गाउँपालिकाको निर्णयको तारिफ गरिरहेका छन् भने एमालेका नेता तथा कार्यकर्ताले वडा कार्यालयबाट अदालतको फैसला र गृह–मन्त्रालयको परिपत्रको पालना भएको भन्दै तारिफ गरिरहेका छन् ।