Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लघुजलविद्युतका कर्मचारीलाई धम्की दिने पुर्ववडाध्यक्ष सहित तीन जना बिरुद्ध उजुरी

    लघुजलविद्युतका कर्मचारीलाई धम्की दिने पुर्ववडाध्यक्ष सहित तीन जना बिरुद्ध उजुरी


    • मंगलवार, फाल्गुण १ २०८०

    • नेपाल वाइड


    लघुजलविद्युतका कर्मचारीलाई धम्की दिने पुर्ववडाध्यक्ष सहित तीन जना बिरुद्ध उजुरी

    खोटाङ, १ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सञ्चालित लघुजलविद्युत आयोजनाको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका कर्मचारीलाई गालीगलौज गर्दै धम्की दिने पुर्ववडाध्यक्ष सहित तीन जना बिरुद्ध उजुरी परेको छ । वाकाचोल बहुउद्देश्यिय सहकारी संस्थाको पहलमा स्थानीय लिदिङ खोलाबाट निकालिएको विद्युतको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका सहकारीका कर्मचारीलाई गालीगलौज गर्नुका साथै धम्की दिएको भन्दै पुर्ववडाध्यक्ष शन्तबीर तामाङ सहित तीन जना बिरुद्ध प्रहरीमा उजुरी परेको हो ।

    लाइन काट्न गएका एक जना लेखापाल र दुई जना लाइन्समेनमाथि गालीगलौज र धम्की दिएको भन्दै सहकारीका अध्यक्ष हेमकाजी पुरीले आवश्यक कानुनी कारबाहीको माग सहित माघ २८ गते ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जाहेरी दिएका छन् । तीन महिनासम्म विद्युतको महसुल नबुझाउने ग्राहकको लाइन काट्ने निर्णय अनुसार सहकारीका कर्मचारी प्रहरी सहित माघ २४ गते शन्तबीरका बुवा डम्बरबहादुर तामाङ र भिनाजु लाक्पा तामाङको घरमा लाइन काट्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय र वाकचोलका वडा सदस्य खगेन्द्र गिरीको रोहवरमा विद्युत लाईन काट्नेक्रममा शन्तबीरले सहकारीका कर्मचारीलाई गालीगलौज गर्दै धम्की दिएको सहकारीका सचिव तुलसीराम पुरीले बताए ।

    डम्बरबहादुर र लाक्पाको घरमा लाईन काटेपछि त्यही टोलका अन्य ग्राहकको लाईन काटिरहेकाबेला आइपुगेका शन्तबीरले सहकारीका कर्मचारीमाथि गालीगलौज र धम्की दिएका थिए । गालीगलौज र धम्की दिएपछि उनले फर्किएर डम्बरबहादुर र लाक्पाको घरमा पुःन आफै विद्युतको लाईन जोडेको सहकारीका सचिव पुरीले बताए । यही विषयलाई लिएर एक जना लाइन्समेनले माघ २९ गते राजीनामा दिएको बताइएको छ । सहकारीले डम्बरबहादुर र लाक्पालाई पनि कारबाही गर्नुपर्ने माग गरेका छन् । सहकारीले ऐसेलुखर्क गाउँपालिका र वडा कार्यालय बाकाचोललाई बोधार्थ दिएको छ । समय मागेर महसुल तिर्ने प्रतिवद्धता जनाउने ग्राहकको भने लाईन काटिएको छैन ।

    शन्तबीर कांग्रेसका ऐसेलुखर्क गाउँपालिका सभापति थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीले पाँच वर्षसम्म साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो ।

    २०६९ सालमा उत्पादन सुरु गरिएको ७० किलोवाट क्षमताको लघुजलविद्यूत आयोजनाले प्रतिग्राहक मासिक तीन सय रुपैयाँ महसुल उठाउने गरेका छन् । सुरुमा लघुजलविद्यूत आयोजनाको ६०१ ग्राहक भए पनि बसाई सराईका कारण हाल ४५५ को हाराहारीमा मात्र ग्राहक छन् । 

    सम्बन्धित समाचार