बुधवार, फाल्गुण २ २०८०
नेपाल वाइड
खोटाङ, २ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने निर्माणाधिन झोलुङ्गे पुलको टावर ढले यता निर्माणको काम ठप्प भएको छ । निर्माणका क्रममा भएको प्राविधिक त्रुटीका कारण ११ महिनाअघि ढलेको पुलको टावर उठाउनमा हालसम्म ठेकेदारले अग्रसरता देखाएका छैनन् । झोलुङ्गे पुलको उदयपुरतर्फको ठड्याइसकिएको टावर गत चैत १० गते ढलेको थियो । पुलको टावर ठडिएको केही दिनमै नदीतिर ढलेको हो । टावर ढले यता झोलुङ्गे पुलको काम नभएको सुनकोसी प्रावि, बाईटारका प्रअ बिशाल राईले बताए ।
ठेकेदार बशन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको हो । झोलुङ्गे पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको ३ करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको स्थानीय नयन जेरो राईले बताए ।
ढलेको तीन दिनभित्र ठेकेदारले टावरको सामान खोलेर अन्यत्र लगेपछि निर्माणस्थलमा नफर्किएको स्थानीयले बताएका छन् । सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुंगा चढेर नदीमा वारपार गर्नेगरेका छन् । झोलुङ्गे पुल निर्माणको काम अलपत्र परेपछि स्थानीयदेखि सांसदले तत्काल काम सुचारु गर्न ठेकेदारलाई फोन गर्नेगरेका छन् । तर ठेकेदारले कसैलाई नटेरेको स्थानीय बताउँछन् । “प्रदेश सांसद र प्रतिनिधिसभा सांसदले हाम्रै अगाडि ठेकेदारलाई पटक–पटक फोन गर्नुभयो तर ठेकेदारले कुरै सुन्दैन,” एक स्थानीयले भने, “ठेकेदारसामु हाम्रो माननीय पनि बिचरै हुनुहुँदोरहेछ ।”
गत माघ पहिलो साता प्रदेश सांसद पाँचकर्ण राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राई लगायत बाईटार पुगेर अलपत्र पुल निरिक्षण गरेका थिए ।