Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा गाउँपालिकामा नमूना युवा संसद अभ्यास

    जन्तेढुंगा गाउँपालिकामा नमूना युवा संसद अभ्यास


    • बिहिवार, फाल्गुण ३ २०८०

    • नेपाल वाइड


    जन्तेढुंगा गाउँपालिकामा नमूना युवा संसद अभ्यास

    खोटाङ, ३ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नमूना युवा संसद अभ्यास कार्यक्रम गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् नेपालसँगको समन्वयमा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा फागुन १ गतेदेखि फागुन ४ गतेसम्म नमूना युवा संसद अभ्यास कार्यक्रम गरिएको हो ।

    राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, युवालाई राष्ट्र एवं राष्ट्रियता, जनता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति समर्पित र प्रतिवद्ध बनाउँदै उत्तरदायी र जवाफदेही बनाउने लगायतका उद्धेश्यसहित गाउँपालिकाले नमूना युवा संसद अभ्यास गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा १६ वर्षदेखि २४ वर्ष उमेर समुहका २५ जना युवा युवतीको सहभागीता रहेको थियो ।

    जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङको प्रमुख आतिथ्यतामा भएको नमूना युवा संसद अभ्यास कार्यक्रममा कविता वन र निर्मला गौतमले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गर्दै राष्ट्रको आधारभूत शक्तिका रूपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने लक्ष्यका साथ नमूना युवा संसद अभ्यास गरिएको प्रशिक्षक वनले बताईन् । ‘कार्यक्रममार्फत श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सु–संस्कृत, सिर्जनशील तथा व्यवसायिकरूपमा दक्ष युवा तयार गर्ने लक्ष्य राखिएको छ,’ प्रशिक्षक वनले भनिन्, ‘युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा पहुँच बढाएर राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयनमा सहभागी गराउनुका साथै लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्ने यसको लक्ष्य हो ।’ 

    sample youth parliament atjantedhunga (ii).jpg

    नमूना युवा संसद अभ्यासमार्फत शिक्षा आर्जनका क्रममा रहेका तथा समाजमा आफ्नो पहिचान स्थापित गर्ने संवेदनशील अवस्थामा रहेका युवाको शिक्षा, रोजगारी वृत्ति लगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउने, प्राथमिकता तथा विशेष प्राथमिकताको समूहका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने लगायतमा टेवा पुग्ने गाउँपालिकाले दावी गरेको छ ।कार्यक्रममा सहभागीलाई गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का लगायतले प्रमाण–पत्र प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार