बुधवार, फाल्गुण ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ फागुन । साँस्कृतिक सम्वन्ध स्थापना गर्ने उद्धेश्यले खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाबीच मितेरी साइनो गाँसिएको छ । त्रि–धार्मिकस्थल हलेसी र बौद्ध धर्मावलम्बी मात्रको बसोबास रहेको नाम्खा गाउँपालिकालाई साँस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले जोड्नेगरी नगरपालिका र गाउँपालिकाबिचमा मितेरी साइनो कायम गरिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेस किरण राई चाम्लिङले बताए ।
किरात समुदायको उद्गमथलो तुवाचुङ जायजुम, हिन्दुको महादेवस्थान, बौद्धको मारातिका गुम्बा रहेको नगरपालिका तथा कैलाश पर्वत, मानसरोवरसँग जोडिएको नाम्खा गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ मितेरी साइनो कायम गरिएको हो ।
‘हलेसी, तुवाचुङ जायजुम र मारातिका गुम्बा तथा कैलाश पर्वत, मानसरोवर र नाम्खा ख्योङजोङ गुम्बालाई साक्षी’ मानेर फागुन ४ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाबीचमा चिनो आदान–प्रदान गर्दै मितेरी सम्वन्ध स्थापना गरिएको हो ।
चिनसँग जोडिएको नाम्खा गाउँपालिका नेपालकै सबैभन्दा ठूलो स्थानीय तह हो । हलेसीझैँ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश पर्वत जाने मार्ग नाम्खा गाउँपालिका हो । हलेसीको मारातीका गुम्बाझैं नाम्खा गाउँपालिकाको नाम्खा ख्योङजोङ गुम्बा चर्चित छ ।
पर्यटकीय क्षेत्र मानिने नाम्खा गाउँपालिकाका बौद्ध धर्मावलम्बीले हलेसीलाई पवित्र भूमिका रुपमा पुज्छन् । तथ्यांक अद्यावधिक गर्ने व्यवस्था नभए पनि नाम्खाका अधिकांश बौद्ध धर्मावलम्बी हलेसी आउने गरेका छन् ।
मितेरीको स्थायी चिनोका रुपमा एक पालिकाले अर्को पालिकाको विशेष स्थानमा साँस्कृतिक पक्ष झल्किने संरचना बनाइदिने समझदारी भएको प्रमुख प्रशासकीय अधिकृत चाम्लिङले बताए ।
यस्तै, नगरपालिका र गाउँपालिकाबीचमा सुशासन, अशल अभ्यास, कार्य अनुभव आदान–प्रदान गरिने जनाइएको छ । आगामी दिनमा हलेसी पुगेका नाम्खावासी र नाम्खा पुगेका नगरबासीको तथ्यांक अद्यावधिक गर्ने तयारी गरिएको छ ।
‘हिन्दु धर्मावलम्बीको महादेवस्थान भनेझैं कैलाश पर्वतको दर्शन गर्न नाम्खा गाउँपालिका पुग्नुपर्छ । हलेसीमा किरात धर्मावलम्बीको बाहुल्यता छ, नाम्खामा एक जाती, एक धर्मावलम्बी मात्रको बसोबास छ,’ चाम्लिङले भने, ‘यो किराती, हिन्दु र बुद्धिष्ट कल्चर जोड्ने प्रयास हो । एकल संस्कृतिलाई बहुल सँस्कृतिसँग र सुगमसँग दुर्गम जोड्ने पहल हो ।’
नाम्खा गाउँपालिकाको प्रस्तावमा नगरपालिका र गाउँपालिकाबिचमा मितेरी साइनो गाँसिएको हो । मितेरी साइनो गाँस्ने क्रममा नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतबीचमा मायाँको चिनो साटासाट गरिएको थियो ।
नाम्खाबासी ‘मृत्युपछि स्वर्गमा श्रीमान–श्रीमतीको भेट हुन्न तर मितसँग भेट हुन्छ’ भन्ने बिश्वास गर्छन् । यही कारण उनीहरु मितेरी साइनोलाई पवित्र सम्वन्ध मान्छन् । नाम्खा गाउँपालिकाकै नाम्खा ख्योङजोङ गुम्बाको तेश्रो अवतारी लामा विगत तीन वर्षदेखि हलेसीमा तपस्य गरिरहेका छन् । उनको तपस्य आगामी बैसाखमा सकिँदैछ ।
सडक सञ्जालमा नजोडिएको हुम्लामा नेपालगञ्जबाट जहाजमार्फत पुग्न सकिन्छ । नेपालगञ्जबाट जहाजमार्फत सिमिकोट पुगेर गाडी चढेर नाम्खा गाउँपालिका पुग्न सकिन्छ ।