Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सत्ता परिवर्तनको असरः बन्द भए सामुदायीक स्वास्थ्य इकाई

    सत्ता परिवर्तनको असरः बन्द भए सामुदायीक स्वास्थ्य इकाई


    • शुक्रवार, फाल्गुण ११ २०८०

    • नेपाल वाइड


    सत्ता परिवर्तनको असरः बन्द भए सामुदायीक स्वास्थ्य इकाई

    खोटाङ, ११ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गाउँ–गाउँमा स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएका अधिकांश सामुदायीक स्वास्थ्य इकाई बन्द भएका छन् । २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र बिमला राई नेतृत्वको स्थानीय सरकारले स्थापना गरेका छ वटामध्ये चार वटा सामुदायीक स्वास्थ्य इकाई बन्द भएका हुन् । स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्न वाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी स्थापना गरिएका सामुदायीक स्वास्थ्य इकाईमध्ये हाल जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको डुम्रीकोटे सामुदायीक स्वास्थ्य इकाई मात्र सञ्चालनमा छन् ।

    उचित व्यवस्थापनमा बेवास्ता गर्दा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थितस्थित बाम्राङ सामुदायीक स्वास्थ्य इकाई र कात्तिके सामुदायीक स्वास्थ्य इकाई तथा जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारा सामुदायीक स्वास्थ्य इकाई र मातेपानी सामुदायीक स्वास्थ्य इकाई बन्द भएका हुन् । खुटा छिरुवाधारामा २०७७ कात्तिक २७ गते र कात्तिकेमा २०७७ फागुन ५ गते सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । बन्द सामुदायीक स्वास्थ्य इकाईबाट गाउँघर क्लिलिक र खोप सेवा सञ्चालन हुने गरेको छ ।

    ६ वडा रहेको गाउँपालिकामा हाल माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्ष छन् । अघिल्लो जनप्रतिनिधिले स्थापना गरेका सामुदायीक स्वास्थ्य इकाई २०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित गठबन्धन नेतृत्वको जनप्रतिनिधि आएपछि राजनैतिक आग्रहपुर्वाग्रह राखेर बन्द गरेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेबाट निर्वाचित वडाध्यक्ष बिदुरमान राईले दावी गरे । खुटा छिरुवाधारामा सामुदायीक स्वास्थ्य इकाईका लागि भवन नै बनाइएको थियो ।

    आवश्यक ठाउँमा स्थापना गरिएका सामुदायीक स्वास्थ्य इकाई निरन्तर सञ्चालनमा रहेको तर अनावश्यक ठाउँमा ‘सस्तो लोकप्रियता’का लागि स्थापना गरिएका सामुदायीक स्वास्थ्य इकाई बन्द भएको वर्तमान जनप्रतिनिधिको तर्क छ । जनशक्ती राख्ने आन्तरिक श्रोत अभावमा सामुदायीक स्वास्थ्य इकाई बन्द गरिएको गाउँपालिका उपाध्यक्ष खड्का बताउँछन् । “अघिल्लो जनप्रतिनिधिले स्थापना गरेको भनेर सामुदायीक स्वास्थ्य इकाई नचलाइएको होईन, जनशक्ती राख्ने आन्तरिक आयश्रोत अभावमा बन्द गर्नु परेको हो,” उपाध्यक्ष खड्काले भने, “निरन्तरता दिन पनि सकिन्थ्यो तर कतिपय सामुदायीक स्वास्थ्य इकाई खासै प्रभावकारी थिएन । कार्यालय सहयोगीको भरमा चलेको पनि देखेकै हो । जति सेवा दिनुपर्ने त्यती सेवा दिइएको थिएन ।”

    सम्वन्धित वडाको स्वास्थ्यचौकीबाट औषधि सहितका स्वास्थ्यकर्मी पठाएर सामुदायिक स्वास्थ्य इकाई चलाइएको थियो । नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले गत फागुन ८ गते गाउँपालिकालाई ध्यानाकर्षण–पत्र बुझाउँदै विकटबस्तीहरुमा सञ्चालनमा रहेको सामुदायिक स्वास्थ्य इकाईहरु बिना कारण बन्द गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।
    बामोल सामुदायीक स्वास्थ्य इकाई उद्घाटनमै सिमित

    जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित बामोल सामुदायीक स्वास्थ्य इकाई भने उद्घाटनमै सिमित भएको छ । उद्घाटनपछि सो सामुदायीक स्वास्थ्य इकाईबाट सेवा प्रवाह नगरिएको स्थानीय बताउँछन् । फर्नीचरको व्यवस्थापन नगरी स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाईबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम चलाउने गरिएको छ ।

    सम्बन्धित समाचार