शनिवार, फाल्गुण १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ फागुन । मानसिक समस्य देखिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीय फुर्दिकु शेर्पालाई खोरमा थुनेर राखिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको हो । मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइज्ज बोल्ने, बेठेगान तरिकाले हिँड्ने लगायतका समस्या देखिएपछि गत माघ १६ गतेदेखि शेर्पालाई खोरमा थुनेर राखिएको हो ।
२०६७ सालमा एसएलसिको तयारी गरिरहेका बेला शेर्पालाई मानसिक समस्या देखा पर्न सुरु भएको हो । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । कोभिड–१९ को महामारीका बेला पनि उनमा मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएकी शेर्पा पुःन गत माघ ३ गतेदेखि अस्वस्थ बनेकी हुन् । हाल उनलाई खोरभित्रै खाना, खाजा, चिया दिने गरिएको बुवा पेमाछेतर शेर्पाले बताए । दिसापिसावका लागि खोरभित्रै भाँडा दिनेगरिएको छ । दिसापिसावलाई निकालेर शौचालयमा फाल्ने गरिएको छ । खोरभित्र राखिएकी शेर्पा कहिले गीत गाउँदै, कहिले तथानाम बोल्दै बस्ने गरेका छन् । साँघुरो खोरभित्रबाट दोहोरो सम्वाद पनि गर्ने गरेकी छन् । उनले कतिपय सही र कतिपय गलत सम्वाद गर्ने गरिरहेको सुनिन्छ ।
परिवारको पहिलो सन्तान फुर्दिकु नुनथलाकै जापला माबिमा एसएलसीको तयारीमा थिईन् । उनी विद्यालय नजिकै कोठा लिएर बसेकी थिईन् । १६ वर्षको उमेरमा एसएलसिको तयारी गरिरहेकोबेला उनलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौंसम्मका धामीझाक्री गरिए । माताकोमा लगिए । त्यती गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्याए । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइए । फुर्दिकु सोलुखुम्बुमा ७ महिना क्रिस्चियन बनेर घर फर्काइन् । त्योबेलासम्मा औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उनको मानसिक समस्या पूर्णरुपमा निको भयो ।
२१ वर्षको उमेर पुगेपछि फुर्दिकुले २०७२ सालमा भोजपुर अन्नपुर्णका दाजाङ शेर्पासँग विवाह गरिन् । छोरा पस्नुरी जन्माईन् । मुटुको समस्यका कारण २०७६ सालमा श्रीमानको मृत्यु भयो । २५ वर्षकै उमेरमा बिधुवा बनिन् । कोभिड–१९ ले बिश्व आक्रान्त पारिरहेको थियो । श्रीमानको मृत्यु भएको वर्ष दिनपछि फुर्दिकुलाई पुःन मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर खाँदैगरेको औषधि नियमित खान छाडेपछि उनलाई पुःन स्वास्थ्यमा समस्या दोहोरिएको हो । हाल उनलाई पाटन अस्पतालले दिएको औषधिको खोल हेरेर सोही औषधि किनेर खुवाउन थालिएको आमा निम्ले शेर्पा बताउँछिन् । फुर्दिकुको उपचारका क्रममा शेर्पा परिवारको लाखौं खर्च भइसकेको छ । आर्थिक समस्यका कारण परिवारले उनलाई थप उपचारका लागि तत्काल अस्पताल लैजान सकेका छैनन् ।

शेर्पा दम्पत्तीका दुई छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा जेठो सन्तान हुन् फुर्दिकु । श्रीमानको मृत्युपछि फुर्दिकु छोरा पस्नुरीसहित माइती घर फर्किएकी हुन् । ६ वर्षका पस्नुरी हाल कक्षा ३ मा पढ्छन् ।