शनिवार, फाल्गुण १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ फागुन । लोकतन्त्र दिवसको अवसर पारेर खोटाङमा वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी बैसाख ११ गतेदेखि बैसाख २२ गतेसम्म दिक्तेलमा वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सवको तयारी गरेको हो ।
शनिबार दिक्तेलको रुपाकोट होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले राष्ट्रिय कराते प्रतियोगीता, खुल्ला म्याराथन, विभिन्न उमेर समुहको दौड, साहित्यिक लगायतका प्रतियोगीता समेटिएको महोत्सव गर्न लागेको जानकारी दिए । प्रतिष्ठानले नेपाल कराते महासंघको संयोजन र नेपाल सितोरियो कराते संघको व्यवस्थापनमा करिब ५० लाख खर्च हुने महोत्सवको तयारी गरेको हो ।
प्रतिष्ठानका अनुसार आगामी बैसाख १५ गतेदेखि बैसाख १७ गतेसम्म राष्ट्रिय कराते प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको छ । करातेमा सात प्रदेश सहित गोजुरियो कराते, सोतोकान कराते, वादोरियो कराते र आयोजकले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको छ ।
यस्तै, बैसाख ११ गतेदेखि महिला/पुरुष खुल्ला म्याराथन प्रतियोगीता गरिने अध्यक्ष राईले बताए । खुल्ला म्याराथनमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार प्रदान गरिने छ । यस्तै, १२ वर्षदेखि १४ वर्ष उमेर समुहको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः ७ हजार, ६ हजार र ५ हजार प्रदान गरिनेछ । १४ वर्षदेखि १६ वर्ष उमेर समुह (महिला/पुरुष)को ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमशः १० हजार, ७ हजार र ५ हजार पाउने छन् । यस्तै, १६ वर्षदेखि १८ वर्ष उमेर समुह (महिला/पुरुष)को १० किलोमिटर दौड प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।
राजनितिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकको ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गरिने छ । यस्तै, बैसाख २२ गते हुने साहित्यिक प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने श्रष्टालाई क्रमशः ३० हजार, २५ हजार र २० हजार प्रदान गरिनेछ । यस्तै, साहित्यतर्फ चौथो र पाँचौं हुने श्रष्टालाई क्रमशः १५ हजार र १० हजार प्रदान गरिने नेपाल सितोरियो कराते संघका सचिव मोतिचन्द्र राईले बताए ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यका साथ खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो । करातेका लागि अनुमानित ३५ लाख, एथ्लेटिक्स (म्याराथन र समुहगत दौड)मा १० लाख र साहित्यिक प्रतियोगीतामा ५ लाख खर्च हुने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजुले खेलकुदको क्षेत्रमा हालसम्म खोटाङले हासिल गरेको उपलव्धीका बारेमा जानकारी दिएका थिए ।