मंगलवार, फाल्गुण १५ २०८०
नेपाल वाइड
खोटाङ, १५ फागुन । नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चका पुर्वउप-सचिव कुमारबाबु बस्नेत (टिबी)ले पार्टी परित्याग गरेका छन् । २०५४ सालदेखि एमालेमा आवद्ध बस्नेतले सोमबार पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको १४ औं सम्मेलन सकिए लगत्तै बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सम्पर्क मञ्चका तत्कालिन अध्यक्षको कारण हार बेहोर्नु परेको भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ वडा कमिटिले सिफारिस गरेको तर माथिल्लो कमिटिबाट कारबाही नभएको, आर्थिक अनियमितता भएको लगायतका विषयमा कुरा उठाउँदा सुनुवाई नभएकाले पार्टीबाट अलग हुनुपरेको बस्नेतले बताए ।
गत साउन २७ गते विज्ञाप्ती जारी गर्दै आफुले उठाएको एजेण्डामा छलफल नभएसम्मका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका बस्नेतले अन्ततः पार्टीको साधारण सदस्यता समेत त्यागेको बताएका छन् । बस्नेतले जिम्मेवारीबाट अलग्गिएको विज्ञाप्ती जारी गरेको ५५ दिनपछि सम्पर्क मञ्चले पनि कारबाही गरेको भन्दै असोज २२ गते पत्र सार्वजनिक गरेको थियो । समस्यको विषयमा एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवबिक्रम राई लगायतसँग कुरा राख्दा आश्वसन मात्रै पाएको बस्नेतले उल्लेख गरेका छन् । ‘यहाँ पार्टीको निति, बिचार र सिद्धान्तलाई कमाइखाने भाँडो बनाउने कमिसनखोर, व्याभिचारीको दवदवा भएसी ईमानदार र निस्वार्थ पार्टी हितमा लाग्ने ब्यक्तिहरु कि दास बन्न सक्नुपर्यो कि त फटाहाकै पछि–पछि...,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपसोचः यस्तो पार्टीमा सिद्धान्त र नितिलाई व्यापार बनाई अत्यन्तै निकृष्ट, अपराधी, व्यभिचारी व्याक्तीहरु हाबी भइरहँदा नेताले कहिल्यै पनि पार्टी, निति र सिद्धान्त पहिला अनि मात्रै ब्यक्ति भन्नै सकेनन् । यसकै कारण हो मैले एमाले छोड्नु पर्ने अवस्थाको सिर्जना ।’
सम्पर्क मञ्चको अध्यक्षमा दाहाल
नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको १४ औं सम्मेलनबाट दीपक दाहालको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको छ । सम्पर्क मञ्चको उपाध्यक्षमा राजकुमार राई र प्रशंसा अधित्रकारी, सचिवमा पदमसुन्दर राई, उप–ससिचवमा भवानी शंकर लुइँटेल र उमा आचार्य तथा कोषाध्यक्षमा सन्तोष राई निर्वाचित भएका छन् ।