शुक्रवार, फाल्गुण १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ फागुन । खोटाङमा विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा छुट दिने व्यवस्था कार्यान्वयनको माग गर्दै अनेरास्वबियुले सिडियोलाई ‘एसएमएस’ पठाएको छ । जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रा गर्नेक्रममा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था लागु गर्नका लागि अनेरास्वबियुको अगुवाईमा शुक्रबार सिडियोलाई एसएमएस पठाएको हो ।
विद्यार्थीलाई गाडी भाडामा छुट दिने व्यवस्था कार्यान्वयनका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाए पनि कार्यान्वयन नभएका कारण सिडियोलाई ‘सिडियो साव, मैले विद्यार्थी कार्ड देखाउँदा छुट पाइँन’ टाईप गरेर एसएमएस पठाइएको अनेरास्वबियुका केन्द्रीय सदस्य एबं खोटाङ इन्चार्ज मोहन संग्रामले बताए ।
अनेरास्ववियुको अगुवाईमा जिल्लाका सयौं विद्यार्थीले सिडियोलाई ‘सिडियो साव, मैले विद्यार्थी कार्ड देखाउँदा छुट पाइँन’ लेखेर एसएमएस पठाएका छन् । सार्वजनिक गाडीमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ तर हालसम्म जिल्लामा सो सहुलियत कार्यान्वयन नभएको अनेरास्ववियुले जनाएको छ । गाडी भाडामा छुटको व्यवस्था कार्यान्वयनका लागि अनेरास्वबियुको टोली फागुन १६ गते जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सिडियो पवित्रप्रकाश शाहलाई भेटेर विद्यार्थीलाई गाडी भाडामा छुट दिने व्यवस्था कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेको अनेरास्ववियुले एसएमएस पठाएर थप ध्यानाकर्षण गराएको हो ।
तत्कालिन सिडियो शालिग्राम शर्मा पौडेल यता पटक–पटक प्रशासनमा ध्यानाकर्षण गराउँदा पनि जिल्लामा विद्यार्थीले यातायातमा छुट पाउने व्यवस्था कार्यान्वयन नभएको केन्द्रीय सदस्य एबं खोटाङ इन्चार्ज संग्रामले बताए ।