शुक्रवार, फाल्गुण १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई ८ हजार बढीले भिजिट गरेका छन् । नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म आयोजना गरिएको चित्रकला प्रदर्शनीलाई ८ हजार २९ जनाले भिजिट गरेको उपस्थिति पुस्तिकामा उल्लेख छ ।
उपस्थिति पुस्तिकामा उल्लेख भएका र नभएका गरी करिब ११ हजार १७९ जनाले चित्रकला प्रदर्शनी अवलोकन गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आयोजक समितिका सदस्य सचिव फोकल पर्सन ओजोनबाबु आचार्यले बताए । कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको चित्रकला प्रदर्शनीलाई दिनमा कम्तीमा ३२० देखि बढीमा ११ सय जनाले अवलोकन गरेका थिए ।
स्वदेसी तथा विदेसी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले काठमाडौंमा चित्रकला प्रदर्शनी गरेको हो । चित्रकला प्रदर्शनीमा नेपाल सहित ५२ देशका १३७ चित्रकारले बनाएका २१३ पेन्टिङ राखिएको थियो । दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले बनाएका १०६ वटा तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई समावेश गरेर प्रदर्शनी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको चित्रकला प्रदर्शनी प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गरेका हुन् । चित्रकला प्रदर्शनीलाई पुर्वराष्ट्रपति रामबरण यादव, सभामुख देवराज घिमिरे, पुर्वप्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका विशिष्ट व्यक्तिहरुले अवलोकन गरेका थिए ।
संसारभरि छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ गरिएको हो । प्रदर्शनमा राखिएको चित्रलाई दिक्तेलमा संग्रहालय बनाएर राख्ने योजना बनाइएको मेयर भट्टराईले बताए ।
स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको दावी गरिएको छ । कतिपयले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।