शुक्रवार, फाल्गुण १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ फागुन । खोटाङ सेवा समाज यूकेले ‘खोटाङ नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ घोषणा गरेको छ । हाल बेलायतमा बसोबास गरिरहेका खोटाङ्गेले सन् २००७ मा स्थापना गरेको समाजले शिक्षाविद एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
नगद एक लाख राशी र ताम्रपत्र सहितको नागरिक सम्मान तथा ५० हजार राशी र ताम्रपत्र सहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय भएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष बिभागका संयोजक डिल्लिराम राईले जानकारी दिए ।
शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको हो ।
खोटाङ सेवा समाज युकेले यस वर्ष पनि खोटाङको सबै पालिकामा खोटाङ–युके स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सोही स्वास्थ्य शिबिर समापनको अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गर्ने तयारी गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए ।
समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई ‘नागरिक सम्मान’ तथा २० वर्ष माथिका प्रतिभालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गर्दैआएको छ ।
हालसम्म पहिलो चरणमा कृषिबिज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराती र संगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेबी एबं समाजसेवी ईमानसिं राई र गीतकार टीका चामलीङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौं चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई ‘नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिसकिएको छ ।
अस्पताल जानका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्याको प्रयास स्वरुप खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई ७ वटा एम्बूलेन्स र त्यसअघि जिल्ला अस्पताललाई एक वटा अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको थियो । यस्तै कोभिड–१९ को महामारीका बेला पनि अक्सिजन लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।