सोमवार, फाल्गुण २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोल्डस्टोर सहितको कृषि एग्रो मार्ट सञ्चालनमा ल्याएको छ । स्थानीय किसानले उत्पादन गरेका फलफुल तथा तरकारी खरिद गरेर संकलन गर्ने तथा विक्रीवितरण गर्नेगरी नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीको ट्राफिक चोकमा हलेसी कृषि एग्रो मार्ट सुरु गरेको हो ।
करिब ४८ लाखको लागतमा एउटा कोल्ड स्टोर र पाँच सटर भएको संरचना निर्माण गरेर फागुन २० गतेदेखि कृषि एग्रो मार्ट सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । ठेक्कामार्फत स्थानीय तरकारी तथा फलफुल व्यवसायी नविन श्रेष्ठलाई मासिक १० हजार भाडामा एउटा कोल्ड चेम्बर, एउटा सटर र एउटा स्टोर दिएर कृषि एग्रो मार्ट सुरु गरिएको हो ।
एग्रो मार्टमा स्थानीय किसानले उत्पादन गरेका रायो साग, मुला, काउली, बन्दा, धनिया, गाँजर, गोलभेँडा, लोकल गोलभेँडा, स्कुस, ब्रोकाउली, हरियो खुर्सानी, च्याउ, आलु, सिमि, मिटरे बोडी, चौमासे बोडी, स्थानीय बोडी, चाइनिज साग, तिते करेला, डल्ले खुर्सानी, आकासे लाम्चे खुर्सानी, लसुन, प्याज, बैगुन, घिरौंला, काँक्रा, कागती, अदुवा लगायका तरकारी खरिद गरेर बिक्रीमा राख्ने व्यवस्था मिलाइएको छ ।
एग्रो मार्ट सुरु गर्नुअघि नगरपालिकाले फागुन १८ गते स्थानीय २८ प्रकारका तरकारीको मूल्या निर्धारण गरेको थियो । एग्रो मार्ट सञ्चालकले निर्धारित मुल्यामा बढीमा २० प्रतिशत नाफा लिएर तरकारी बिक्री गर्न पाउने सम्झौता गरिएको मेयर राईले बताईन् । “तरकारी विक्री गर्न होटलहरुमा डुलाउदै हिँड्नु पर्ने, कृषि उपजले उचित मूल्य नपाउने र विक्री नहुने किसानको समस्या थियो,” मेयर राईले भनिन्, “लोकल उत्पादनलाई प्रयोग गर्दै किसानको आर्थिक समृद्धि बलियो बनाउने उद्धेश्यका साथ एग्रो मार्टको अवधारणा अघि सारिएको हो । किसानलाई व्यापक लाभ हुने अपेक्षा गरेका छौँ ।”
हालसम्म हलेसीका होटल तथा पसलमा डुलाउँदै तरकारी बिक्री गर्दैआएका किसानले आफ्नो तरकारी सिधै एग्रो मार्टमा लगेर तोकिएको मूल्यामा बिक्री गर्न थालेका छन् । तरकारी सिधै एग्रो मार्टले खरिद गरिदिन थालेपछि अरुबेला होटलमा डुलाएर तरकारी बिक्री गर्दैआएका किसान उत्साहित भएका छन् । “हामीलाई तरकारी विक्री गर्न धेरै समस्या थियो, होटल–होटलमा डुलाउदै हिँड्नु पर्ने, विक्री भएन भने कुहिएर जान्थ्यो,” स्थानीय कृषक शरनकुमारी राईले भनिन्, “अहिलेलाई तरकारी सिधै मार्टमा लगेर बिक्री गर्न पाएका छौँ । नगरले हामी किसानको समस्या हल गरिदिएको छ ।”

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा नयाँ–नयाँ होटल खुल्ने क्रम बढ्दो छ । त्यी होटलमा तराईबाट भित्रिएका तरकारी प्रयोग भइरहेका छन् । तराईको सट्टा स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी होटलमा खपत गर्ने/गराउने गरी एग्रो मार्ट सुरु गरिएको हो ।
एग्रो मार्ट सञ्चालकले ‘खपत हुँदैन’ भनेर तरकारी फिर्ता पठाउन नपाउने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरी बताउँछन् । मौसम र आवश्यकता अनुसार तरकारीको मूल्य परिवर्तन गरिने छ । “तरकारी खपत नहुने अवस्थामा पनि एग्रो सञ्चालकले किन्नुपर्छ । खरिद गरेर चार टनको कोल्ड स्टोरमा राख्नु पर्छ,” गिरीले भने, “स्थानीय किसानले उत्पादन गरेको तरकारीले धानेन भने बाहिरबाट ल्याउन पाउँछ ।”
गत आर्थिक वर्ष विनियोजित १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष विनियोजन गरिएको १९ लाख ९४ हजारमा कृषि मार्ट तथा १० लाखमा कोल्डस्टोर तयार पारिएको हो ।
हलेसी कृषि एग्रो मार्टको बाँकी चार सटरमा हस्तनिर्मित सामग्री, हलेसीको कोसेली तथा चिनोको रुपमा प्रयोग हुने सामग्री तथा किराना पसल सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।