Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडकः नियमित भुक्तानी नपाउँदा काम प्रभावित

    च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडकः नियमित भुक्तानी नपाउँदा काम प्रभावित


    • मंगलवार, फाल्गुण २२ २०८०

    • नेपाल वाइड


    च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडकः नियमित भुक्तानी नपाउँदा काम प्रभावित
    तस्बीरः दमन राई

    खोटाङ, २२ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारबाट हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाको कुर्लेघाट जोड्ने सडक कालोपत्रेको काम करिब २५ प्रतिशत सकिएको छ । २०८२ माघ ४ गतेसम्ममा सम्पन्न गर्नेगरी पोखराको फेवा कन्स्ट्रक्सनले २०७९ माघ १० गते च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको थियो ।
    हाल च्यास्मीटार र डिकुवा खण्डमा ड्रेनको काम भइरहेको फेवा कन्स्ट्रक्सनका प्रतिनिधि पत्थरसिं राईले बताए । गत असारसम्म तिव्र गतिमा काम अघि बढाइए पनि सडक डिभिजन हर्कपुर ओखलढुंगाले नियमित भुक्तानी दिन नसक्दा सडक कालोपत्रेको काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । ‘फागुनबाट असारसम्म राम्रो गतिमा काम गर्‍यौं । भुक्तानी पाउन समस्या भएपछि नियमित काम गर्न सकेका छैनौं,’ राईले भने, ‘अहिले ऋण काढेर काम गरिरहेका छौँ । हालसम्म अनुमानित पौने सात करोडको काम गरिसकेका छौँ ।’
    फेवा कन्स्ट्रक्सनले भ्याट सहित २७ करोड ४ लाख ७५ हजार ६६२ मा सक्नेगरी च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट (१०.५ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको हो । ड्रेन सहित नौ मिटर चौडा हुने कालोपत्रे सडक आयोजना २०७९ चैत १३ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेकी थिईन् ।
    मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट डिकुवा र बाहुनीडाँडालाई जोड्नेगरी च्यास्मीटार–सालचौतारा–डिकुवा–कुर्लेघाट सडकको काम अघि बढाइएको हो । यो सडक हलेसी तुवाचुङ नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । २०७७ सालमा च्यास्मीटारबाट डिकुवा तथा बाहुनीडाँडाको जयरामबाट कुर्लेघाट पुग्ने कच्ची सडक बनिसकेको छ । उदयपुतर्फ पनि कच्ची सडक बनिसकेको छ । हाल कुर्लेघाटमा झोलुङ्गे पुलमार्फत नदी वारपार गर्नेगरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए । कुर्लेघाटमा सडक पुलको आवश्यकता खड्किएको छ ।

    सम्बन्धित समाचार