शनिवार, फाल्गुण २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मावि स्तरिय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । छात्राको शारिरीक र मानसिक विकासमा सघाउ पुर्याउने उद्धेश्यले जी–फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग एवं गाउँपालिकासँगको समन्वयमा प्रयास नेपालले छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको हो ।
१४४ औं नारी दिवसको अवर पारेर फागुन २५ र २६ गते आयोजना गरिएको छात्रा भलिवल प्रतियोगितामा शिशु मावि महेश्वरी प्रथम, त्रिभुवन मावि ऐसेलुखर्क द्धितीय र सिम्ले मावि जलेश्वरी तृतिय भएका छन् । यस्तै, जालपा मावि बाकाचोल चौथो स्थान प्राप्त गरेको छ ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने माविलाई कप, मेडल, एक/एक थान भलिवल, प्रमाण–पत्र तथा चौथो हुने विद्यालयलाई भलिबल र प्रमाण–पत्र प्रदान गरिएको छ । खेलाडीलाई ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–३ का वडाअध्यक्ष टेकेन्द्र राजभण्डारी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
खेलमा सहभागी सबै विद्यालय र खेलाडीलाई प्रमाण–पत्रका साथमा यातायात खर्च प्रदान गरिएको प्रयास नेपालका कर्याक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिए । प्रतियोगीतामा गाउँपालिकाभित्रका ८ माविका छात्राले प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रम प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको सभापतित्वमा भएको थियो । प्रयास नेपालले ऐसेलुखर्क गाउँपालिकामा गुणस्तरिय शिक्षा, कृषि तथा पोषण सुधार, विद्यालय भवन, खानेपानी र सिँचाई निर्माण लगायतका क्षेत्रमा काम गर्दैआएको छ ।