आइतवार, फाल्गुण २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ फागुन । खोटाङका १४ युवाले जिल्ला अस्पताल दिक्तेललाई ७० हजारको फाइवर सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेको छ । जनही ५ हजारका दरले रकम संकलन गरेर युवाले जिल्ला अस्पताललाई २० थान फाइवरको सिरक, २० थान सिरकको खोल, २० थान बेड कभर र २० थान सिरानी प्रदान गरेको हो ।
युवाले जुटाएको सिरक, सिरकको खोल, बेड कभर र सिरानी आइतबार प्रदेश सांसद भूपेन्द्र राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले जिल्ला अस्पतालका डा. रुपेश संग्रौलालाई हस्तान्तरण गरेका छन् ।
जिल्ला अस्पतालमा भर्ना भएका बिरामीले ओढ्ने ओछ्याउनेगरी सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरिएको सहयोगी गोपालचन्द्र आचार्यले बताए । उपचारका क्रममा अस्पताल भर्ना भएकोबेला कतिपय बिरामीले न्यानो कपडा अभावमा चिसोमा रात काट्न बस्न वाध्य भएको देखेपछि युवाले सहयोग संकलन गरेर अस्पताललाई सरक, बेड कभर र सिरानी प्रदान गरेका हुन् ।
आचार्य, दिलीप खत्री, दिनेश कठायत, शम्भु घिमिरे, नारायण राई, अनिल आचार्य, सुनिल राई, ढुण्डीराज पाण्डे, यादव धमला, एलिस दंगाल, दिनेश आचार्य, जोसेफ रिजाल, अर्जुन चौंलागाई र उत्तम आचार्यले अस्पताललाई न्यानो कपडा खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।