मंगलवार, फाल्गुण २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ फागुन । निर्माणकैक्रममा ११ महिनाअघि ढलेको खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुलको टावर उठाउन थालिएको छ । निर्माणका क्रममा गत चैत १० गते ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने पुलको टावर उठाउन थालिएको हो ।
निर्माणाधिन पुलको ठडाइसकिएको उदयपुरतर्फको टावर ढले यता काम ठप्प भएको थियो । निर्माण व्यवसायी बशन्त बुढाथोकीले कामदार ल्याएर मंगलबारदेखि पुलको भाँचिएको टावर जोड्न सुरु गरेको डिकुवा आधारभुत विद्यालयका प्रअ प्रमेश तिलुङ राईले बताए ।
उदयपुरतर्फको टावरको १४ स्टेपमध्ये २०७८ सालमा नौ स्टेप र २०७९ सालमा पाँच स्टेप जडान गरिएको थियो । निर्माणका क्रममा भएको प्राविधिक त्रुटीका कारण पुलको टावर ठडिएको केही दिनमै नदीतिर ढलेको थियो । खोटाङतर्फको टावर भने यथावत छ । टावर ढलेसँगै रुग्न अवस्थामा पुगेको पुलको कामलाई पुःन सुचारु गराउनका लागि पछिल्लो समय प्रदेश सांसद भूपेन्द्र राई लगायतले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई दवाव दिएका थिए ।
नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभी काठमाडौंले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको थियो । झोलुङ्गे पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको ३ करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती भएको स्थानीय युवा नयन जेरो राईले बताए ।

चरम ढिलासुस्तीका वावजुद झोलुङ्गे पुलको उदयपुर र खोटाङतर्फ नदी किनारमा टावर उठाइएको थियो । ढलेको तीन दिनभित्र टावरको सामान खोलेर ठेकेदार हिँडेका थिए । प्रदेश सांसद राईकै पहलमा ठेकेदार पुःन फर्किएको स्थानीय बताउँछन् ।
उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो । कटारी लगायतका शहर पुगेर ‘नुनदेखि सुन’ ल्याउनका लागि डिकुवाका स्थानीयले जोखिम मोलेर डुंगाबाट सुनकोसी तर्ने गरेका छन् । पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार सदियौंदेखि डुंगा चढेर नदी वारपार गर्न वाध्य बनेको सुनकोसी प्रावि बाईटारका प्रअ बिशाल राईले बताए ।
घाटको वारी पारिसम्म कच्ची सडक बनिसकेको छ । तर, हालसम्म डुंगा विस्थापित गर्ने पुल बनेको छैन ।