बुधवार, फाल्गुण ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० फागुन । डढेलोले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको खिसाकामा एक घर, तीन मतान र एक गोठ जलेको छ । स्थानीय ठूलोभीर सामुदायीक वनमा लागेको डढेलोले बुधबार स्थानीय जीवन राईको घर र मतान, सुवास राईको एउटा मतान र गोठ तथा तारा राईको मतान जलेको हो ।
आगलागीमा चार वटा खसी, पाठापाठी लगायत डढेर मरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले बताए । जलेको खसी बाख्राको यकिन संख्या आउन बाँकी छ ।

डढेलोले बतासेको खिसाका र ढाँडेलाई चारैतिरबाट घेरेको छ । ढाँडेमा डढेलोको जोखिम टर्दै गए पनि खिसाका क्षेत्रमा जोखिम कायम रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चाम्लिङले बताए । नेपाल प्रहरी, गाउँ प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । वरिपरी चारैतिर फैलिएको जंगलमा डढेलो लागेका कारण वस्ती जोखिममा परेको छ ।
