Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    समावि दिक्तेलको विव्यास गठनमा खिचातानी, तीन दिनभित्र जवाफ दिन नगरको निर्देशन

    समावि दिक्तेलको विव्यास गठनमा खिचातानी, तीन दिनभित्र जवाफ दिन नगरको निर्देशन


    • बुधवार, फाल्गुण ३० २०८०

    • नेपाल वाइड


    समावि दिक्तेलको विव्यास गठनमा खिचातानी, तीन दिनभित्र जवाफ दिन नगरको निर्देशन
    दिक्तेलस्थित सरस्वती माबि । तस्बीरः दमन राई

    खोटाङ, ३० फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नौ महिनासम्म व्यवस्थापन समिति गठन गर्न नसकेको भन्दै सरस्वती माबि दिक्तेललाई स्पष्टीकरण सोधेको छ । नगरपालिकाले बुधबार विद्यालयलाई पत्राचार गर्दै लामो समयसम्म व्यवस्थापन समिति अध्यक्ष चयन गर्न नसक्नुको कारण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ । श्रोतका अनुसार तोकिएको समयभित्र जवाफ नआए विद्यालयको खाता रोक्का तथा अन्य निर्णय गर्ने चेतावनी दिएको छ ।

    सरस्वती माबिमा व्यवस्थापन समिति गठन भएको नौ महिना बित्दा समेत राजनीतिक खिचातानीका कारण व्यवस्थापन समिति चयन गर्न सकिएको छैन । विव्यास गठनका लागि गत जेठ २७ गते पार्टीगत प्यानल नै खडा गरेर निर्वाचन गरिएको थियो । जनप्रतिनिधि चयनकै झल्को दिनेगरी गरिएको चुनावबाट माओवादी र कांग्रेस (गठबन्धन) को सहयोगमा डोरनाथ आचार्य र इन्दिरा बस्नेत तथा एमाले र कांग्रेसको समर्थनमा अकेला राई र नारायण राई निर्वाचित भएका थिए ।

    व्यवस्थापन समिति गठनमै कांग्रेस दुईतिर विभाजित भएका थिए । शिक्षक प्रतिनिधि चयन पनि सर्वसम्मत हुन सकेन । निर्वाचनकै माध्यमबाट चन्द्रकुमार श्रेष्ठ शिक्षक प्रतिनिधि चयन भएका थिए ।

    दुई सदस्य मनोनितमै अल्झन्

    निर्वाचनपछि व्यवस्थापन समितिका अध्यक्ष चयनका लागि पटक–पटक छलफल बस्दा पनि टुंगो लाग्न सकेन । अकेला र डोरनाथले विव्यास अध्यक्षमा दावी गरिरहेका छन् । सर्वसहमतीमा अध्यक्ष चुन्ने अवस्था नभएपछि पुःन दुई सदस्य मनोनित गर्ने र अध्यक्ष टुंगो लगाउने प्रकृया समेत सफल हुन सकेको छैन । आफ्नो पक्षमा बहुमत पुर्‍याउनेगरी सदस्य मनोनयन गर्ने खेलले सदस्य मनोनयन पनि पेचिलो बनेको हो । विव्यास अध्यक्ष चयन तथा सदस्य मनोनयनमा भइरहेको रस्साकस्सीका पछाडि दलहरुको ‘हिडन’ भूमिका छ ।

    शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित विव्यासका चार सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट थप एक महिला र एक पुरुषलाई सदस्यमा मनोनित गर्ने व्यवस्था छ । यस अनुसार सो विद्यालयका पुर्वप्रअ पवन थापा, ध्यानबहादुर राई, देवी राई लगायतलाई सदस्यमा मनोनित गर्ने बारेमा छलफल गरिए पनि सहमती जुट्न नसक्दा विव्यास गठनले पूर्णता पाउन नसकेको हो । दुबैपक्ष आ–आफ्नो पक्षका सदस्य मनोनित गरेर ल्याउने कसरतमा छन् । अध्यक्षको टुंगो नलागेका कारण हाल विव्यासको बैठक ज्येष्ठ सदस्यका रुपमा नारायण राईले सम्हाल्दै आएका छन् ।

    विव्यास अध्यक्ष चयनका क्रममा अव केन्द्रमा फेरिएको सत्ता समिकरणले समेत भूमिका खेल्ने छ । यद्यपी, एक–दुई हप्ताभित्र विव्यास अध्यक्ष टुंग्याइने सरस्वती माबिका प्रअ शिवहरी ढकाल बताउँछन् ।

    जिल्लाको केन्द्रमा रहेको सरस्वती माबि नमूना विद्यालयको सूचीमा समावेश छ । विद्यार्थीको संख्या पनि अन्य विद्यालयको तुलनामा बढी छ तर सो विद्यालयमा प्रअ, विव्यास चयनदेखि सरुवा आउन राजनैतिक पावर ‘शेयरिङ’ हुने गरेको छ । त्यही भएर सरस्वती माबिमा धेरैजसो राजनीतिमा पहुँच राख्ने शिक्षक संगठनका प्रमुख शिक्षक कार्यरत छन् ।

    सम्बन्धित समाचार