Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    लिखु गाउँपालिकाको पालिका गान सार्वजनिक

    लिखु गाउँपालिकाको पालिका गान सार्वजनिक


    • शुक्रवार, चैत्र २ २०८०

    • नेपाल वाइड


    लिखु गाउँपालिकाको पालिका गान सार्वजनिक

    ओखलढुंगा, २ चैत । ओखलढुंगाको लिखु गाउँपालिकाको पालिका गान सार्वजनिक गरिएको छ । लिखु गाउँपालिका अध्यक्ष कप उद्घाटनको अवसर पारेर फागुन ३० गते ‘प्यारो ओखलढुंगा हाम्रो प्यारो लिखु’ बोलको गीत सार्वजनिक गरिएको हो । गाउँपालिकाको हरेक औपचारिक कार्यक्रमको सुरुमा गाउनेगरी पालिका गान तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताए ।

    पालिका गान छनौटका लागि गाउँपालिकाले फागुन ३ गते सर्जकबाट रचना माग गरेको थियो । सो मागका आधारमा प्राप्त आठ वटा रचनामध्ये लिखु गाउँपालिका–५ का सर्जक कुमार काफ्लेको रचना पालिका गानका रुपमा छानिएको हो । पालिका गानमा पुष्कर सुनुवार, कुवेर तामाङ, नरेश तामाङ, लाक्पा दिकु शेर्पा र अनुमा चौधरीको आवाज रहेको छ । गीतमा संगित एरेन्ज पुष्कर सुनुवारको रहेको छ । पालिका गान छनौटकालागि राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माईला)को संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो ।

    पालिका गान सार्वजनिक कार्यक्रममा सर्जक काफ्लेले वरिष्ठ गीतकार कृष्णहरि बराल, कालीप्रसाद रिजाल, टंक भट्टराई, श्रीराम राई लगायतका श्रष्टालाई प्रेरणाका रुपमा सम्झिएका थिए । गाउँपालिकाले पालिका गान सर्जक काफ्लेलाई सम्मान गरेको छ । काफ्लेको उपन्यास ‘हजार सपना’ लगायतका रचना प्रकाशित छन् । उनी कथा संग्रह ‘हृदयको सपना’ र लघुकथा संग्रह ‘सपना कतिपय’ प्रकाशनको तयारीमा छन् ।

    पालिका गान सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा, जिल्ला समन्वय समितिका सदस्य बद्रीविक्रम कार्की लगायतले श्रष्टा काफ्लेलाई बधाई तथा शुभकामना दिएका थिए ।

    सम्बन्धित समाचार