Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सार्बजनिक लिखत सम्बन्धी कसुरमा गिरी पक्राउ

    सार्बजनिक लिखत सम्बन्धी कसुरमा गिरी पक्राउ


    • शुक्रवार, चैत्र २ २०८०

    • नेपाल वाइड


    सार्बजनिक लिखत सम्बन्धी कसुरमा गिरी पक्राउ

    खोटाङ, २ चैत । सार्बजनिक लिखत सम्बन्धी कसुरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोजकुमार गिरी पक्राउ परेका छन् । दर्ता नभएको हलेसी महादेव गुठी समितिको कार्यालय महादेवस्थानको लेटर प्याड र छाप बनाएर हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई बरबुझारथ गर्नका लागि पत्राचार गरेको भन्दै परेको जाहेरीका आधारमा गिरीलाई चैत १ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    गत माघ ४ गते हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नयाँ कार्य समिति गठन गरेको केही समयपछि गिरीले आफु पुजारीको हकदार भएको दावी सहित हलेसी महादेव गुठी समितिको लेटर प्याड तयार पारेर विक्रम संवत १८६१ स्थापना उल्लेख भएको छाप हालेर अध्यक्षको रुपमा माघ १८ गते र माघ २६ गते बरबुझारथका लागि पत्राचार गरेपछि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले माघ २९ गते उनी विरुद्ध जाहेरी दिएका थिए । जाहेरीपछि अनुसन्धान गर्दा हलेसी महादेव गुठी समिति कहीँकतै दर्ता नभएको पाइएपछि गिरीलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

    किर्ते जालसाजी मुद्धामा जिल्ला अदालतबाट दोषी ठहर भइसकेका र विद्युतीय कसुरको मुद्धा विचाराधिन रहेको अवस्थामा गिरी पुःन सार्बजनिक लिखत सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । गिरी बिरुद्ध सार्बजनिक लिखत सम्बन्धी कसुर मुद्धा दर्ता गरेर अदालतबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    गुठी संस्थानमा दर्ता नभएको हलेसी महादेव गुठी समितिको लेटर प्याड र छाप बनाएर अध्यक्षका रुपमा लिखत किर्ते गर्ने गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ (ग) बमोजिम सजाय गर्न माग गरिएको छ ।

    गिरी हलेसीपाटी डटकमका सञ्चालक हुन् । सामाजिक सञ्जालमा अरुलाई मनपरी लेखेको भन्दै महादेवस्थानका एलोन राईले दिएको जाहेरीका आधारमा गिरी असोज २० गते पनि पक्राउ परेका थिए । सो विद्युतीय कसुरको मुद्धा अदालतमा विचाराधिन छ ।

    गिरीले सोही स्थानका कुभेशचन्द्र गिरीको स्नातक तहको प्रमाण–पत्रको फोटोकपीमा फोटोसपमार्फत आफ्नो नाम लेखेर अनलाईन दर्ता गर्न प्रयोग गरेको जाहेरीपछि किर्ते जालसाजी मुद्धा अन्तरगत जिल्ला अदालत खोटाङबाट २०७९ माघ १९ गते दोषी ठहर भइ २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका छन् ।

    सम्बन्धित समाचार