सोमवार, चैत्र ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ चैत । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले साकुमा निवासी क्यान्सर पिडित सुखराम राईलाई आर्थिक सहयोग जुटेको छ । हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजार बसिरहेका क्यान्सर पिडित राईलाई आफन्त तथा शुभेच्छुकको पहलमा २ लाख २२ हजार ९३९ रुपैयाँ सहयोग जुटेको हो ।
सुन्तलेबाट ४ वर्षअघि बिरेन्द्रबजार झरेका सुखराम लामो समयदेखि क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएपछि अभियान्ता केदारकुमार मगर, ध्यानकुमार राई, ईश्वर बन्जरा, प्रकाश बन्जरा, हरी श्रेष्ठ, सन्देश मगर, पुकल श्रेष्ठ लगायतको पहलमा ‘सुखमान राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । अभियानका क्रममा संकलन भएकोमध्ये २ लाख १९ हजार ४३९ रुपैयाँ चेकमार्फत र बाँकी ३ हजार ५०० नगदै हस्तान्तरण गरिएको अभियान्ता केदारकुमार मगरले जानकारी दिए ।
संकलन भएको सहयोग रकम समाजसेवी चन्द्रकुमार राई, केदारकुमार आले मगर, ईश्वर बन्जरा, बबिता राई लगायतको उपस्थितिमा सोमबार क्यान्सर पिडितलाई हस्तान्तरण गरिएको छ ।
‘सुखमान राई बचाऊ अभियान’ सञ्चालन गरेका अभियान्ताले विगतका समयदेखि आर्थिक अवस्था कमजोर भएका बिरामीको सहयोगार्थ सहयोग अभियान सञ्चालन गर्दैआएका छन् ।