मंगलवार, चैत्र ६ २०८०
नेपाल वाइड
खोटाङ, ६ चैत । बैदेसिक रोजगारीका सिलसिलामा यूएई पठाएर अलपत्र पार्ने मेनपावरलाई वैदेशिक रोजगार विभागले लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको छ । क्लिनरको कामका लागि यूएई पठाएको तर कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाउँदा खोटाङका दुई सहित १९ युवा अलपत्र परेको खबर सार्वजनिक भएपछि बिभागले मंगलबार मेची इन्टरनेशनल ओभर्सिज प्रालि, काठमाडौंलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पत्राचार गरेको हो ।
कामदार करारनामा अनुसारको सेवा सुविधा नपाउँदा अलपत्र परेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राईको उद्धारका लागि आफन्तले चैत ४ गते जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयले सो निवेदनलाई वैदेसिक रोजगार विभागमा ‘फरवार्ड’ गरेपछि विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन निर्देशनात्मक पत्र पठाएको हो ।
कानुन अधिकृत अजित केशरीले लेखेको पत्रमा ‘वैदेशिक रोजगार ऐन, बमोजिम संस्थाको करारको दायित्व पुरा गरेको वा करारमा उल्लेखित शर्त पुरा गराउन आवश्यक र उपयुक्त कारवाही/पहल गरेको तथा ऐन बमोजिम क्षतिपूर्ति दिनु नपर्ने कुनै कारण र आधार भए सोलाई पुष्ट्याइँ गर्ने प्रमाण सहित उपस्थित हुन’ भनिएको छ ।
पासपोर्ट नम्बर १९३११५९ भएका पर्शुराम र पासपोर्ट नम्बर १९२१५७७ भएका राजकुमार मेची इन्टरनेशनल ओभर्सिजमार्फत यूएई पुगेका थिए । एजेन्टलाई जनही १ लाख ९० हजार तिरेर पर्शुराम फागुन ११ गते र राजकुमार माघ २७ गते यूएई पुगेका थिए । अलपत्र युवाको उद्धारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको समन्वय र सहयोगमा आफन्त जिल्ला प्रशासन कार्यालय पुगेका थिए । अलपत्रको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति र पिपुल फोरमलाई पनि निवेदन पठाइएको सुरक्षित आप्रवासन (सामी)ले जनाएको छ ।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङका दुई सहित सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करन सरदार, तेर्हथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु अलपत्र परेको समाचार चैत १ गते सार्वजनिक भएको थियो । त्यसमध्ये खोटाङका दुई सहित आठ युवा हप्ता दिनदेखि डेरा दुबई क्लक टावरमा कामबिहिन भोकभोकै बसिरहेका छन् ।
१९ युवालाई फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । तर सम्झौता पत्रमा उल्लेख भएको कम्पनीमा नलगी ‘सप्लाई’मा फरक–फरक काममा लगाउने, नियमित काम नदिने र गरेको कामको पैसा समयमा नदिएपछि नेपाली युवा अलपत्र परेका हुन् ।
यस्तै, सेक्युर नेपाल जव प्लेसमेन्ट प्रालिबाट यूएई पुगेका खोटाङका संगम मगरसहितका पाँच युवा देरा दुबई भन्ने ठाउँमा बसिरहेका छन् ।
नेपाली युवा एजेन्टलाई २ लाख २० हजारसम्म बुझाएर यूएई पुगेका थिए । एजेन्टले कतिपयलाई ‘फेक’ डकुमेन्ट बनाएर यूएई पुर्याएको खुलेको पर्शुरामका दाजु रत्नकुमार राई बताउँछन् । यूएईमा नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका छन् । खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी यूएई लगिए पनि खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० को हिसाव गर्ने गरिएको छ । नेपालमा मेनपावरलाई सम्पर्क गर्दा बेवास्ता गर्ने गरेको छ ।
करारनामा अनुसारको काम र दाम नपाउँदा यूएईमा उनीहरुजस्ता कैयौं युवा समस्यामा छन् । तर, उनीहरुको पक्षमा आवाज उठाइदिने कोही छैनन् । सेवा सुविधाको विषयमा आवाज उठाउँदा ‘धम्काउने’ गरेको युवाहरु बताउँछन् ।
नेपालबाट मेनपावर र मेनपावर व्यवसायीलाई दवाव पर्न थालेपछि यूएईमा युवालाई अलग–अलग राख्ने, फकाउने, नभए धम्काउने गरेका छन् । समाचार प्रकाशन भएको विषयमा झनै धम्की दिएका थिए । अहिले थापाले ‘हामीलाई रुल्स थाहा भएन । गल्ती गर्यौं । अव बोल्दैनौं । दुईपल्ट खाना र दुईपल्ट खाजा भको ठाउँमा ड्युटी गथ्र्यौं । यूएईमा थापाले सेलरी दुई दिन ढिला हुँदा फर्केर आको भनेर एउटा एउटा भिडियो बनाएर पठाउ अनि नेपाल जान पर्यो भने म पठाइदिन्छु । यही ड्युटी गर्ने हो भने त्यही अनुसारको ड्युटी दिन लगाउँछु’ भन्ने गरेका छन् ।