बुधवार, चैत्र ७ २०८०
नेपाल वाइड
खोटाङ, ७ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा पाँच महिनादेखि एक जना प्रावि शिक्षक नियुक्ती गर्न सकिएको छैन । व्यवस्थापन समितिका अध्यक्ष र सदस्यबीचमा ‘आफु निकट’ शिक्षक ल्याउने कसरत सुरु भएपछि पञ्च माबिमा नयाँ शिक्षक नियुक्ती गर्न नसकिएको हो ।
प्रावि शिक्षक शारदादेवी गेलाल गत कात्तिक ७ गते अनिवार्य अवकाशमा निस्किएपछि रिक्त दरबन्दीमा अर्को शिक्षक ल्याउन ‘तछाड मछाड’ चलिरहेको छ । प्रअ लक्ष्मीप्रसाद खनालका अनुसार पञ्च माबिमा आउनका लागि १० शिक्षकको निवेदन परेको छ ।
त्यसमध्ये व्यवस्थापन समितिको बैठकमा निरौली प्रावि नेर्पाका शिक्षक खेमराज आचार्यलाई ल्याउने सहमती जुटेको थियो तर गत असोजमा सञ्चालन गरिएको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि अनुसार प्रअ छनौट भएका आचार्यलाई नगरपालिकाले सरुवाका लागि सहमती दिन अस्वीकार गरेपछि ‘आ–आफ्नो’ निकटका शिक्षक ल्याउने खेल लम्बिएको हो ।
श्रोतका अनुसार विव्यास अध्यक्ष रामप्रसाद आचार्य लगायत केही सदस्य हाल बुईपामा कार्यरत यमकुमारी आचार्यलाई सरुवा गरेर ल्याउन चाहन्छन् । विव्यास सदस्य टंकप्रसाद आचार्य पनि यमकुमारीलाई ल्याउनुपर्ने पक्षमा छन् । तर यामकुमारीको पक्षमा सहमती नजुटे विकल्पमा बाम्राङबाट हस्ताकुमारी बस्नेतलाई ल्याउनुपर्ने टंकप्रसादको धारणा छ ।
यस्तै, विव्यास सदस्य झमप्रसाद आचार्य लगायत केही सदस्य दोर्पाचिउरीडाँडामा कार्यरत गंगाप्रसाद आचार्यलाई ल्याउन जोडबल गरिरहेका छन् । रिक्त दरबन्दीमा शिक्षक ल्याउनका लागि विव्यासको पटक–पटक बैठक बसे पनि कसैको पक्षमा बहुमत जुट्न सकेको छैन ।
विव्यासभित्र आ–आफ्नै रोजाईका शिक्षक ल्याउन ‘तछाडमछाड’ चलिरहँदा विद्यालय प्रशासन भने अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षक चाहिरहेको छ । व्यवस्थापन समितिका अध्यक्ष आचार्यले रिक्त दरबन्दीमा शिक्षक ल्याउने विषय चाँडै टुंगिने बताए ।