Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘आमा, मेरो ज्यान जोगाउन पूजापाठ गरिदिनु’

    ‘आमा, मेरो ज्यान जोगाउन पूजापाठ गरिदिनु’


    • बिहिवार, चैत्र ८ २०८०

    • दमन राई


    ‘आमा, मेरो ज्यान जोगाउन पूजापाठ गरिदिनु’
    रूस–युक्रेन युद्धमा ज्यान गुमाएका खोटाङका क्षितिज बस्नेत (बीचमा)।

    खोटाङ, ८ चैत । घरमा दशैं मनाउने तरखर हुँदै थियो। रूसी सेनामा भर्ती भएका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३, छोरम्बु सापातेलका ३४ वर्षीय क्षितिज बस्नेतले कात्तिक २ गते बाआमा, श्रीमती लगायतलाई सम्पर्क गरे। १५ दिनको जंगल कोर्सका लागि जान लागेको र सो क्रममा मोबाइल चलाउन नपाइने भएकाले सम्पर्क हुन नसक्ने जानकारी गराए। 

    आमा मैयाँदेवी बस्नेतलाई ‘आफ्नो ख्याल राख्नु, राम्रो खानु, यस्तो ठाउँमा आएको छु, मेरा लागि भगवान्‌लाई प्रार्थना र पूजापाठ गरिदिनु’ भनेका थिए। दिदीलाई पनि वर मागिदिन आग्रह गरे। रूस-युक्रेन युद्धका क्रममा रूसी सेना भर्ना भएका क्षितिज र परिवारबीचको त्यही संवाद नै अन्तिम बनेको छ। 

    पाँच महीनादेखि कुनै खबर नपाएको बस्नेत परिवारको हातमा चैत ३ गते एउटा पत्र पर्‍यो। क्षितिजको फोनको प्रतीक्षामा रहेको परिवारलाई आएको पत्रमा डीएनएको नमूना पठाउन भनिएको थियो। “छाँगाबाट खसे जस्तै भयौं,” क्षितिजका दाइ टेकराज भन्छन्, “भाइको फोन आउला भनेको त डीएनए नमूना दिनका लागि पो परराष्ट्र मन्त्रालयले पठाएको पत्र आयो।”

    त्यो पत्रसँगै परिवारजन शोकमा डुबेका छन्। टेकराज काठमाडौं पुगेका छन्। डीएनए दिन पनि समस्या झेल्नुपरेको टेकराज सुनाउँछन्। “चैत ३ गते नै काठमाडौं पुगेका थियौं, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र टिचिङ अस्पताल धाउँदाधाउँदै थाक्यौं,” उनी भन्छन्।

    डीएनएको नमूना दिन पनि पाँच दिन लागेको उनी सुनाउँछन्। चैत ८ मा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा डीएनएका लागि नमूना दिन पाएको सुनाउँदै टेकराज भन्छन्, “रूसबाट त के ल्याइदिन्थे, हामीले डीएनए दिंदा पनि पाँच दिन झुलाए।”

    रूस-युक्रेन युद्धमा ज्यान गुमाएका युवाका शव क्षतविक्षत छन्। जसले गर्दा पहिचान हुन नसकेपछि रूसले काठमाडौंस्थित दूतावास मार्फत डीएनएका लागि पत्राचार गरेको थियो।

    रूसी दूतावासले फागुन २३ मा पठाएको पत्र परराष्ट्र मन्त्रालयले प्रहरी हुँदै खोटाङ पुर्‍याउन १० दिन लगायो। त्यो पत्र पाएसँगै परिवारजनले आश मारिसकेका छन्। उसै पनि उनीहरू पाँच महीनादेखि चिन्तामा थिए। “सम्पर्कविहीन भएको पाँच महीना भयो, त्यसयता घरमा हाँसोखुशी छैन,” टेकराज भन्छन्। 

    रूसी दूतावासले युक्रेनसँगको युद्धमा १५ जना नेपाली युवाको ज्यान गएको खबर गरेको छ। उनीहरूको शव क्षतविक्षत भएकाले पहिचान र जेनेटिक टेस्टका लागि निकट परिवारका सदस्यको डीएनए नमूना पठाउन नेपाल सरकारलाई आग्रह गरेको हो। यससँगै क्षितिजको ज्यान गएको पुष्टि भएको छ। परिवारका सदस्य पनि शोकमा डुबेका छन्। “रूस-युक्रेन युद्धमा अस्तायो,” वडाध्यक्ष भूपेन्द्र बस्नेत भन्छन्, “कहिले के भएको थियो भन्ने केही जानकारी पाएका छैनौं।” 

    क्षिजित सशस्त्र प्रहरीमा कार्यरत थिए। सात वर्ष सशस्त्रमा काम गरेपछि राजीनामा दिएर सेक्युरिटी गार्डमा दुबई गए। दुई वर्ष दुबई बसेर फर्किएका उनी केही समय घरमा बसेर फेरि त्यही दुबईकै कम्पनीमा काम गर्न गएका थिए। तर उनको यात्रा दुबईमा रोकिएन, असोज १५ गते दुबईबाट रूस गएका थिए। भर्नापछि रूसी सेनाको पोशाक लगाएका र आधुनिक हतियार बोकेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

    रूसी सेनामा भर्ती भएपछि दशैंअघि परिवारसँगको पहिलो पटकको सम्पर्कका क्रममा उनले भनेका थिए, “म रूस आएको छु। कुनै तनाव नलिनु। दशैं राम्रो मनाउनु। राम्रै रहेछ। बूढाखाडा सबैलाई लिंदो रहेछ। दाजुभाइ सबैलाई ल्याऊँ जस्तो भो!”

    त्यसपछिका नियमित सम्पर्कमा उनले अवस्था राम्रै रहेको बताउने गरेका थिए। तर पछिल्लो पटक कात्तिक २ मा गाह्रो भएको सुनाएका थिए। त्यो युद्धमा खटिनुअघिको समय थियो। “अन्तिम सम्पर्कका दिन मात्रै ‘यहाँ त गाह्रो हुने रहेछ’ भनेको थियो,” दाइ टेकराज भन्छन्।

    त्यति वेला उनी हतास पनि थिए। उनले युद्ध शब्द प्रयोग नगरी जंगल कोर्समा जाँदै छु भनेको दाइ टेकराज सुनाउँछन्। “अब जंगल कोर्समा जान्छु। यहाँ त गाह्रो हुने रहेछ, अप्ठ्यारो पर्ने रहेछ,” क्षितिजको भनाइ सुनाउँदै टेकराज भन्छन्, “उसले जंगल कोर्स भनेको त युद्ध रहेछ। बुबाआमा डराउलान् भनेर लडाइँ भन्न नसकेको रहेछ।”

    त्यति वेला उनले घरका सबै जनासँग कुराकानी गरेका थिए। आमासँग आफ्नो जीवनरक्षाका लागि पूजापाठ गरिदिन पनि आग्रह गरेका थिए। “युद्धमा जानुअघि उसले रुवाउने शब्दहरू बोलेको थियो,” टेकराज सुनाउँछन्, “मलाई जंगल कोर्समा लग्यो, अब केकसो हुन्छ थाहा छैन। आमा राम्रोसँग खानु, बस्नु। मेरा लागि प्रार्थना गर्नु, पूजापाठ गरिदिनु। दानदक्षिणा गर्नु है भनेको थियो।”

    क्षितिज बुवा हेम्बर र आमा मैयाँदेबी बस्नेतका कान्छा छोरा हुन्। उनकी पत्नी अञ्जली र दुई छोराछोरी इँटहरीमा बस्छन्। यति वेला परिवारजनसँगै गाउँ नै शोकमा डुबेको छ। 

    रूसी सेनामा भर्ना भएका खोटाङका युवाको यकीन तथ्यांक छैन। रूस पुगेका युवाका आफन्तहरूका अनुसार दुई जना घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिका-१, देवीस्थानका २६ वर्षीय रबिन राई र बराहपोखरी गाउँपालिका-१, बराहपोखरीका ३९ वर्षीय सुकुम राई रूस-युक्रेन युद्धमा घाइते भएको खबर आएको परिवारजनले बताएका छन्। -हिमालखबर 

    सम्बन्धित समाचार