सोमवार, चैत्र १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई दिनको सुत्केरी छात्राले कक्षा ९ को परीक्षा दिइरहेकी छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा कक्षा ९ मा अध्ययनरत छात्रा ललिता राई सुत्केरी अवस्थामा परीक्षामा सामेल भएकी हुन् ।
गाउँपालिकामा चैत ४ गतेबाट पालिका स्तरिय परीक्षा सुरु भएको हो । चैत २ गते सुत्केरी भएकी छात्राले नियमित परीक्षा दिइरहेको प्रअ पवन बस्नेतले बताए ।
छात्रा राई उदयपुरको लिम्चुङबुङ गाउँपालिका बाँसबोटेकी हुन् । कक्षा ८ मा पढ्दापढ्दै उनले वर्ष दिनअघि भँडारेघाटका दिलकुमार माझीसँग प्रेम विवाह गरेकी थिईन् । विवाह गरेपछि उनी कक्षा ९ मा भर्ना भएकी हुन् । उनी कक्षामा नियमित उपस्थित हुने छात्रा हुन् । पढाईमा ‘अव्वल’ भएका कारण सुत्केरी छात्रालाई केही समयपछि परीक्षा दिने वातावरण बनाउने विद्यालयको तयारी थियो तर उनले ‘अन्य परीक्षार्थीसँगै परीक्षा दिन्छु’ भनेपछि नियमित परीक्षामा सामेल भएकी प्रअ वस्नेतले बताए ।
विद्यालय नजिकै घर भएकाले ललिता नवजात शिशुलाई छाडेर परीक्षा दिन पुग्ने गरेकी छन् । बच्चा भोकले रोएको अवस्थामा परिवारले परीक्षा हलमा पुर्याइदिने गरेका छन् । रुँदै गरेको बच्चा ल्याएको बेला दुध चुसाउँदै परीक्षा लेख्ने गरेकी छन् ।
पञ्चकौशिकाबाट दुई/तीन जना छात्राले पढाइ छाडेर विवाह गरेका छन् तर अन्य भने परीक्षा दिन नआएको प्रअ बस्नेतले बताए ।