Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यूएई पठाएर अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दुतावासबाट पत्राचार

    यूएई पठाएर अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दुतावासबाट पत्राचार


    • मंगलवार, चैत्र १३ २०८०

    • नेपाल वाइड


    यूएई पठाएर अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दुतावासबाट पत्राचार

    खोटाङ, १३ चैत । यूएईस्थित नेपाली दुतावासले बैदेसिक रोजगारीका सिलसिलामा युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

    यूएई पठाएर १९ युवालाई अलपत्र पार्ने मेची इन्टरनेशनल ओभर्सिज प्रालि, काठमाडौंलाई कारबाहीका लागि दुतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंलाई पत्राचार गरेको हो । “नेपाली श्रमिकहरु समस्यामा परेको थाहा भएपछि समस्य सामाधान गर्न दुतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या सामाधान गर्ने प्रतिबद्धता जनाएका थिए,” श्रम सहचारी आविद अंसारीले लेखेको पत्रमा भनिएको छ, “तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या सामाधानका लागि कुनै पनि पहल नगरेको देखिएकोले मेनपावर तथा कम्पनीलाई आवश्यक कारवाही हुन आदेशानुसार अनुरोध छ ।”

    मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि यूएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्मा पठाएको तर कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत १ गते सार्वजनिक भएको थियो ।

    कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई, सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेर्‍हथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ अलपत्र परेका थिए ।

    खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी यूएई लगिए पनि खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० दिने व्यवस्था थियो । उनीहरु एजेन्टलाई जनही १ लाख ९० हजारदेखि २ लाख २० हजारसम्म बुझाएर यूएई पुगेका थिए । यूएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नु पर्ने अवस्था देखेपछि युवा मिडियाको सम्पर्कमा पुगेका थिए ।

    मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलव्ध गराउने ग्यारेन्टीका लागि फागुन ७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्लाई पत्र पठाएका थिए । तर कामदारको समस्या हल नभएको पिडितले बताएका छन् । वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत ६ गते निर्देशन दिएको थियो ।

    कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दवाव दिएका थिए । अलपत्र युवाका अनुसार यूएईमा सम्झौता अनुसारको काम र दाम नपाए दुःख पाइरहेका कैयौं नेपाली छन् । तर उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् ।

    सम्बन्धित समाचार