मंगलवार, चैत्र १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ चैत । नेकपा एमाले खोटाङले आसन्न अधिबेसनका लागि प्रतिनिधि छनौटको मापदण्ड तयार पारेको छ । एमालेले मंगलबार दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २८ र २९ गते हुने अधिबेसनका लागि प्रतिनिधि टुंग्याउन मापदण्ड तयार पारेको जानकारी दिएको हो ।
हालसम्म नविकृत कुल पार्टी सदस्य संख्या ५ हजार १२७ जनाबाट प्रतिनिधि छनौटको अनुपात निर्धारण गरिएको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
एमालेका अनुसार प्रत्येक वडालाई भुगोल मानेर जतिसुकै सदस्य भए पनि तल्लो २० सदस्यबाट ३ जना प्रतिनिधि चयन गर्ने, २० सदस्य भन्दामाथि ९५ सदस्यसम्म प्रत्येक १५ सदस्य बराबर १ जना प्रतिनिधि थप गर्दै लैजाने, ९५ देखिमाथि जतिसुकै सदस्य भए पनि प्रत्येक २० सदस्य बराबर १ जना प्रतिनिधि थप गर्दै लैजाने मापदण्ड तय गरिएको छ ।
यस्तै, दलित संगठीत सदस्यलाई पालिका भुगोल मानेर प्रत्येक ५ सदस्य बरावर १ प्रतिनिधिको व्यवस्था गरिएको एमाले अध्यक्ष दंगालले जानकारी दिए ।
एमालेका अनुसार अधिबेसनका लागि प्रतिनिधि छनौट गर्न जिल्लाका १० वटै स्थानीय तहमा पालिका स्तरीय निर्वाचन समिति निर्माण गरिसकिएको छ ।
अध्यक्ष दंगालको नेतृत्वमा ३३३ सदस्यीय मूल व्यवस्थापन समिति
अधिबेसनको तयारीमा अध्यक्ष दंगालको नेतृत्वमा ३३३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै, उपाध्यक्ष देवविक्रम राईको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति, सचिव कुमार आचार्यको संयोजकत्वमा १११ सदस्यीय प्रचार प्रसार उप–समिति, उप–सचिव सुरेन्द्रकुमार राईको संयोजकत्वमा १०१ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ ।
यस्तै, काठमाडौंमा सहयोग संकलन, तुल व्यानर, झण्डा, टोपी व्यवस्थापनका लागि खोटाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिपक दाहालको संयोजकत्वमा काठमाडौं सहयोग समिति, राजन बञ्जराको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, बिरेन्द्र ढकालको संयोवकत्वमा खाना तथा आवास व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अतिथि सत्कारको जिम्मेवारी अनेमसंघ जिल्ला कमिटि, स्वास्थ्य सेवा उपसमितिको जिम्मेवारी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र साउण्डसिस्टम व्यवस्थापनको जिम्मेवारी सिताराम राई सञ्जिवलाई दिइएको एमालेले जनाएको छ ।