बुधवार, चैत्र १४ २०८०
नेपाल वाइड
काठमाडौं, १४ चैत । उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ । उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठ जनामा कोभिड १९ पुष्टि भएको छ । पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ ।
जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ । आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुना मध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो । उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए । कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी डा. महर्जनले दिए ।
एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन् । कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो । निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०/६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन् ।