Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नियमित विद्यालय जाँदैनन् भरङ्गेका बालबच्चा

    नियमित विद्यालय जाँदैनन् भरङ्गेका बालबच्चा


    • बुधवार, चैत्र १४ २०८०

    • नेपाल वाइड


    नियमित विद्यालय जाँदैनन् भरङ्गेका बालबच्चा

    खोटाङ, १४ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गेमा नजिक स्कुल छैन । आधारभुत तहकै पढाइका लागि भरङ्गेका छात्र/छात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण आधारभुत विद्यालयमा पुग्छन् ।

    जनकल्याणबाट कक्षा ३ उत्तिर्ण गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आधारभुत विद्यालय निगाले जाने गरेकाछन् । भरङ्गेका विद्यार्थीलाई जनकल्याण आधारभुत विद्यालय पुग्न करिब एक घण्टा लाग्छ । तर, भौगोलिक रुपमा अनकन्टार भरङ्गेका छात्र/छात्रा नियमित विद्यालय नआउने गरेको जनकल्याण आधारभुत विद्यालयका प्रअ तीर्थबहादुर तामाङ बताउँछन् ।

    हाल भरङ्गेका आठ विद्यार्थी जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत छन् । सुविन तामाङ र विवेक गुरुङ कक्षा १ मा, हेमन्त तामाङ, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, सुमिना तामाङ, शुष्मा तामाङ र समिक्षा तामाङ कक्षा ३ मा पढ्छन् ।

    शुष्मा, सुमिना र विकास एकै परिवारका विद्यार्थी हुन् । केही आमाबुवा बिहानै बस्तुभाउ हेर्न जाँदा घरमा बालबच्चालाई खानपिनको टुंगो नहुँदा कतिपय छात्रछात्रा नियमित विद्यालय जान नपाएको प्रअ तामाङले बताए । ‘भरङ्गेका अधिकांश विद्यार्थी नियमित स्कुल आउँदैनन् । नियमित स्कुल नआउनुको कारण खोज्न हामी विद्यार्थीको घरैमा पनि पुग्यौं,’ प्रअ तामाङले भने, ‘बाआमा बिहानै उठेर वस्तुभाउ गर्न हुर्लुङतिर जाँदोरहेछ । त्यो बेला घरमा खानपिन बेटुंगो हुँदा स्कुल आउन नपाउँदोरहेछ ।’

    सिद्धेश्वरी आधारभुत विद्यालयमा भने भरङ्गेका चार जना विद्यार्थी अध्ययनरत छन् । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशिल तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा पढ्छन् । उनीहरुलाई भरङ्गेबाट निगाले पुग्न डेढ घण्टा लाग्ने गरेको प्रअ बिन्दा थापा बताउँछिन् ।

    यस्तै, सिद्धेश्वरी आधारभुत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र संकल्प राई कक्षा ७ मा, प्रदिप राई कक्षा ६ मा, समिक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन् । उनीहरु अप्ठ्यारो बाटो पार गर्दै विद्यालय जाने आउने गरेका छन् ।

    सम्पर्कका हिसावले भरङ्गे नितान्त एकान्त ठाउँ हो । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जो कोही पुग्दैनन् । कतिसम्म भने चुनावका बेला भोट माग्न उम्मेदवार समेत भरङ्गे नपुग्ने गरेको स्थानीय बीरबहादुर तामाङले बताए । 

    सम्बन्धित समाचार