बिहिवार, चैत्र १५ २०८०
दमन राई
खोटाङ, १५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी महिला स्वास्थ्य स्वयंसेविका बिमला खत्री एसइई उत्तिर्ण गर्ने ध्याउन्नमा छिन् ।
सानोमा पढ्न नपाएको रहर पुरा गर्न महिला स्वास्थ्य स्वयंसेविका खत्री ३४ वर्षको उमेरमा आफ्नो छोराछोरी सरहका सहकर्मीसँगै परीक्षा दिइरहेकी छन् । श्रीमाबि बाँसबोटे लफ्याङमा अध्ययनरत खत्री सरस्वती मावि दिक्तेल परीक्षा केन्द्रबाट एसइई दिइरहेकी छन् ।
बिमलाको पढ्ने रहर हुँदाहुँदै सानैमा विवाह भयो । घरजमतिर लागेका कारण २०५७ सालमा कक्षा ८ मा पढ्दापढ्दै पढाईलाई बिट मार्न वाध्य भईन् ।
अहिले तीन छोरी र एक छोरालाई हुर्काएपछि उनले पुःन कक्षा ८ बाटै पढाईलाई निरन्तरता दिएकी हुन् । तर उनी सबै कक्षामा भर्ना मात्र भईन् । स्वअध्ययन गरेर परीक्षा दिन मात्रै विद्यालय पुगेको बताउँछिन् । “सानोमा पढ्न पाइएन । अहिले महिला स्वास्थ्य स्वयंसेविकाको शैक्षिक योग्यताको विषयमा प्रश्न उठ्न थाले,” बिमलाले भनिन्, “शिक्षाको महत्व बुझियो । कम्तीमा एसइई गर्नुपर्छ भन्ने भयो । त्यही भएर छोराछोरीसँगै पढ्न थालेकी हुँ ।”
क्याम्पस पढ्दापढ्दै जेठी छोरी मुनाको विवाह भइसकेको छ । माईली जुनाले सिभिल इन्जिनियरको पढाई पूरा गर्न लागेकी छन् । छोरा आशिष र कान्छी छोरी पूर्णीमा श्रीमाबि बासबोटेमा कक्षा ९ मा अध्ययनरत छन् ।
यस्तै, दिक्तेलको सरस्वती माविमा कार्यालय सहयोगीका रुपमा कार्यरत ४३ वर्षीय टिकाबहादुर बस्नेत छोरा आशिषसँगै एसइई दिइरहेका छन् । बस्नेत पञ्च मावि दिक्तेल केन्द्रबाट परीक्षामा सहभागी छन् । सबैले पढेको देख्दा ‘पढ्नुपर्ने रहेछ’ भन्ने लागेको बस्नेत बताउँछन् । “अहिले सबै पढ्ने मात्र छन् । सबैले पढेको देखेर उत्साह भयो,” बस्नेतले भने, “पढ्नु पर्ने रहेछ, केही हुन्छ जस्तो भो । सरहरुले पनि हौसला दिनुभयो ।”
बस्नेतले २०५५/०५६ तिर ‘आइरन गेट’ मानिने एसएलसि दिएका थिए तर विषय लाग्यो । पढाइलाई त्यही बिट मारेर पैसा कमाउन दुबईतिर हानिए । १० वर्ष विदेश बसेर आएपछि २०६६ सालमा सरस्वती माबिमा कार्यालय सहयोगीको काम पाए । पढ्ने लहर पछ्याउँदै बस्नेतले कार्यालय सहयोगीको कामसँगै पुःन कक्षा ८ मा भर्ना भएर पढाई सुरु गरेका हुन् ।
सरस्वती माबिका कार्यालय सहयोगी जानुका आचार्यले गत वर्ष एसइई उत्तिर्ण गरेकी थिईन् । दशकअघि सोही विद्यालयका कार्यालय सहयोगी ईन्द्रबिलास आचार्यले पनि लामो समय काम गरेपछि एसएलसी उत्तिर्ण गरेका थिए । तिनै ईन्द्रबिलासकै पद पछ्याउँदै पछिल्लो कार्यालय सहयोगीले एसइई दिन थालेको सरस्वती माबि दिक्तेलका प्रअ शिवहरी ढकाल बताउँछन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रहरी उमेश खत्रीले पञ्च माबिबाट एसइई दिइरहेका छन् । उमेशले २०७२ सालमा एसइई दिएका थिए । उसबेला १.५० जिपिए मात्रै आएको थियो ।
माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि गरेर आउन भनियो । त्यही कारण उमेशले ग्रेड वृद्धिका लागि पुःन एसइई दिन सुरु गरेका हुन् । कलिला विद्यार्थीकाबीचमा देखिएको उनीहरुको उपस्थितिले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाईलाई चरितार्थ गरिरहेको छ ।
खोटाङमा एसइई परीक्षाका लागि २ हजार ९५६ परीक्षार्थीले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्दबहादुर बिकका अनुसार साधारणधारतर्फ नियमित २ हजार ७६५, प्राविधिक धारतर्फ १२९ र ग्रेडवृद्धितर्फ ६२ जना परीक्षार्थीले फर्म भरेका थिए ।
त्यसमध्ये पहिलो दिन ३४ छात्रा र ७ छात्र अनुपस्थित भएका छन् । विवाह र बैदेसिक रोजगारका कारण उनीहरु अनुपस्थित भएको विद्यालयले जनाएको छ । परीक्षाका लागि जिल्लाभरी २४ वटा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा सय वटा सामुदायीक र चार वटा संस्थागत विद्यालय छन् ।