शुक्रवार, चैत्र १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ चैत । खोटाङको केपिलासगढी गाउँपालिकाले २९ वटा आधारभुत विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । राष्ट्रिय योजना आयोगबाट प्राप्त बजेटबाट गाउँपालिकाले ‘आइसिटी एजुकेसन एण्ड डिजिटल क्लास रुम’ कार्यक्रम अन्तरगत आधारभुत विद्यालयलाई एक/एक थान ल्यापटप र एक/एक थान प्रिन्टर प्रदान गरेको हो ।
शुक्रबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष समीर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत बोमबहादुर परियारले विद्यालयका प्रअ तथा प्रतिनिधिलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय योजना आयोगबाट प्राप्त बजेटमध्ये भ्याटसहित २८ लाख ८१ हजार ५०० मा ठेक्कामार्फत ल्यापटप र प्रिन्टर खरिद गरेर आधारभुत विद्यालयलाई प्रदान गरिएको हो । विद्यालयको मागका आधारमा ल्यापटप र प्रिन्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘एउटा फोटोकपी गर्न बाक्सिला पुग्नुपर्ने वाध्यता छ । त्यही भएर सबैको डिमाण्ड अनुसार ल्यापटप र प्रिन्टर प्रदान गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘आगामी दिनमा हातले लेखेको कुनै पनि कागजात लिएर नआउनु भनेका छौँ ।’

इन्टरनेट प्रयोग गरेर स्मार्टबोर्डमार्फत रमाईलो तरिकाले पठन–पाठन गर्न/गराउनका लागि ल्यापटप र प्रिन्टर उपलव्ध गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए । ‘इन्टरनेट प्रयोग गरेर स्मार्टबोर्डमार्फत रमाईलो तरिकाले पठन–पाठन गराउने लक्ष्यका साथ ल्यापटप र प्रिन्टर प्रदान गरिएको हो । स्मार्टबोर्डमार्फत पठन–पाठन गर्न ल्यापटप चाहिन्छ । शैक्षिक सामग्री निर्माणका लागि प्रिन्टरको आवश्यकता पर्छ,’ शिक्षा शाखा प्रमुख खनालले भने, ‘विद्यालयमा ल्यापटप र प्रिन्टर छैन भने स्मार्टबोर्ड र इन्टरनेटको काम हुन्न । कक्षामा प्रोजेक्टरको माध्यमबाट पठन–पाठन गराउने गाउँपालिकाको योजना हो ।’