शनिवार, चैत्र १७ २०८०
दमन राई
खोटाङ, १७ चैत । चैत १५ गतेदेखि सुरु एसइई परीक्षमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेस्थित शान्तोद्धय माबि सल्लेबाट चार विद्यार्थी मात्रै सहभागी छन् ।
कुनै वर्ष ४५–५० जनासम्म विद्यार्थीलाई एसइई परीक्षा दिलाएका शान्तोद्धय माबिमा यसपल्ट कर्णबहादुर बिक, राजीव पोखरेल, प्रसान राई र युहन्ना राई मात्रै छन् । चार छात्रले देउराली माबि डुम्रधारापानी केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
गत वर्ष शान्तोद्धय माबिबाट १४ जनाले एसइई दिएका थिए । आगामी वर्षका लागि पनि एसइईका ५ जना मात्रै विद्यार्थी रहेको शान्तोद्धय माबिका प्रअ दिपबहादुर राई बताउँछन् । “दम्पत्तीले बच्चा जन्माउन छाडे । विदेशले बसाई सर्न थाले । गाउँ रित्तो हुँदै गए । गाउँमा विद्यार्थी छैनन्,” प्रअ राईले भने, “हाल कक्षा ९ मा पनि पाँच जना मात्रै विद्यार्थी छन् । कक्षा ६, ७ र ८ मा अलि विद्यार्थी छन् । फेरी तल्लो कक्षामा विद्यार्थी न्युन छन् ।”
ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित कालिका माबिको हालत शान्तोद्धय माबिको भन्दा फरक छैन । हाल कालिका माबि बाकाचोलका ८ जना विद्यार्थीले एसइई दिइरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका अनुसार हिमालय माबि सोल्माका ९ जना, शान्ति निकेतन मिनाकर्ण माबि छोरम्बुका ९ जना, चम्पावती माबि बिजयखर्क १० जना, जनसेवा माबि छितापोखरीका १० जना र जनजागृति माबि सोल्माका ११ जनाले एसइई दिइरहेका छन् ।
पछिल्लो समय खोटाङका हरेक सामुदायीक विद्यालयमा विद्यार्थी संख्या घट्दो छ । कतिपय विद्यालयलाई एसइई दिने विद्यार्थीकै अभाव खड्किन थालेको छ । एसइई दिने विद्यार्थी संख्या प्रत्येक वर्ष घटिरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नन्दबहादुर बिक बताउँछन् ।
बैदेसिक रोजगार, बसाई सराई लगायतका साझा समस्याले विद्यालयलाई विद्यार्थीको खडेरी पर्न थालेको हो । विद्यार्थीलाई रोक्ने प्रभावकारी योजना ल्याउन नसके विद्यालय थप रित्तिने अवस्था आउने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बिक बताउँछन् ।
यस वर्षको एसइईका लागि जिल्लाका २ हजार ९५६ परीक्षार्थीले फर्म भरेका थिए जवकी २०७९ सालमा ३ हजार ३५४ जनाले फर्म गरेका थिए । २०७८ मा त्योभन्दा बढी विद्यार्थीले एसइई दिएका थिए । “एसइईको दिने परीक्षार्थी संख्या प्रत्येक वर्ष घटिरहेको छ,” बिकले भने, “बैदेसिक रोजगार र बसाई सराईका कारण एसइईका विद्यार्थी संख्या घट्दैगएको हो ।”
एसइईमा जिल्लामै सबैभन्दा बढी विद्यार्थी संख्या सरस्वती माबि दिक्तेलको देखिएको छ । सरस्वती माबि दिक्तेलका १८० जना, च्यास्मीटार माबिका ६७, चम्पावती माबि बुईपाका ६१ जना, चिसापानी माबिका ५६ जना एसइईमा सहभागी भएका छन् ।
धेरैजसो विद्यालयमा एसइई दिने विद्यार्थीको संख्या २० देखि ४० को बिचमा देखिन्छ । शिशु माबि महेश्वरीका १२ जना, रेनुका माबि दिप्सुङका १३ जना, त्रिभुवन माबि ऐसेलुखर्कका १२ जना, धारापानी माबि धरापानीका १३ जना, याङ्सोला माबि छोरम्बुका १३ जना, धिप्लुङ माबि सेम्मा छितापोखरीका १३ जना, मनोकामना जनकल्या माबि निर्मलीडाँडाका १४ जना र सिंहदेबी माबि बोपुङका १४ जनाले एसइई दिइरहेका छन् ।