Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘प्रअले चाह्यो भने स्कुलको मुहार फेर्न सम्भव छ’

    ‘प्रअले चाह्यो भने स्कुलको मुहार फेर्न सम्भव छ’


    • शनिवार, चैत्र १७ २०८०

    • दमन राई


    ‘प्रअले चाह्यो भने स्कुलको मुहार फेर्न सम्भव छ’
    कालिका आधारभुत विद्यालय खाल्लेको प्लाष्टर गरिएको र प्लाष्टर गर्न बाँकी भवन । तस्बीरः दमन राई

    खोटाङ, १७ चैत । एउटा प्रअले चाह्यो भने पनि स्कुलमा धेरै काम गर्न सकिन्छ । उदाहरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको कालिका आधारभुत विद्यालय कात्तिकेलाई हेरे पुग्छ । गत असोजअघिको स्कुलको भौतिक अवस्था र हालको अवस्था मात्रै तुलना गरेर हेर्दा ‘प्रअले चाहे स्कुलको मुहार फेर्न सम्भव छ’ भनेर ‘कन्भिन्स’ हुन कर लाग्छ ।

    नगरपालिकाले गत असोजमा सञ्चालन गरेको प्रअ छनौट परीक्षा उत्तिर्ण गरेर शिक्षक दुर्लभ खत्री नयाँ प्रअका रुपमा कालिका आधारभुत विद्यालय पुगेपछि परिवर्तनका संकेत देखिन थालेको अभिभावक बताउँछन् ।

    दलित बस्तीको बीचमा रहेको कालिका आधारभुत विद्यालयका तीन वटा पुरानो कच्ची भवन एकै ठाउँमा छन् । त्योभन्दा केही माथि एउटा कच्ची भवन छ जहाँबाट प्रशासनिक कामकाज सञ्चालन हुँदैआएको छ । बरको फेदमा एकै ठाउँमा रहेको ढुंगामाटोले बनेको पुरानो तीन वटामध्ये दुई वटा भवन सहयोग उठाएर प्लाष्टर गरिएको छ ।

    काठको मक्किएको झ्याल ढोका हटाएर ग्रिलको झ्याल ढोका हालिएको छ । सहयोग उठाएरै अफिस कोठामा टेबल र कुर्सी व्यवस्थापन गरिएको प्रअ खत्रीले बताए । 

    kalika basic school (iii).jpg

    कालिका आधारभुत विद्यालयका प्रअ दुर्लभ खत्री ।

    यसरी जुट्यो सहयोग

    खत्री प्रअ बनेर आफ्नै गाउँको स्कुलमा आइपुगे । स्कुलको पुरानो कच्ची भवनको भित्ता न लिपपोत गरिएको थियो न रंगरोगन नै । वरु वर्षाको पानीले पखालेर पर्खालका ढुंगा बाहिरै निस्केको थियो । प्रअ खत्रीले त्यही दृश्याको फोटो फेसबुकमा शेयर गरे ।

    खाल्ले घर भई हाल पथरीमा बसिरहेका काजी खड्का (भोला)ले फोन गरेर विद्यालयको अवस्थाका बारेमा जिज्ञासा राखे । प्रअ खत्रीले विद्यालयको भौतिक अवस्थाका बारेमा जानकारी गराए । अमेरिका रहेका खड्काले तुरुन्तै विद्यालयलाई २५ हजार सहयोग पठाइदिए । त्यही पैसामा थप सहयोग जुटाएर स्कुलको भवन प्लाष्टर गरिएको प्रअ खत्रीले बताए ।

    भवन प्लाष्टरका लागि व्यवस्थापन समितिका सदस्य एबं निर्माण व्यवसायी मिनुहाङ राईले आठ हजार बराबरको दुई ट्याक्टर बालुवा उपलव्ध गराए । अर्का अभिभावक एबं निर्माण व्यवसायी दिपक केसीले १७ हजार बराबरको १५ बोरा सिमेन्ट उपलव्ध गराए । निर्माण सामग्री जुटेपछि बिदाको दिन पारेर अभिभावकसँग श्रमदान गरेर भवन प्लाष्टर गरिएको खत्रीले बताए ।

    खत्रीले सँगै पढेका र मनले खाएका साथीभाईबाट थप सहयोग जुटाए । खाल्लेकै नासु गजेन्द्र भट्टराईबाट प्राप्त भएको २० हजारमा दुई वटा टेबल निर्माण गरिए । हाल जापान रहेका मनोज खतिवडाले दिएको ३२ हजारमा ६ वटा कुर्सी खरिद गरिएको छ । खाल्लेकै राजु परियारले छात्र/छात्राका लागि करिब एक लाख २२ हजार मुल्याको ६० सेट ट्रयाकसुर्ट र भेष्ट उपलव्ध गराएका छन् ।

    विभिन्न पेशा व्यवसायमा संलग्न सन्तोष भट्टराईबाट प्राप्त १० हजार, रमेश भट्टराईबाट १० हजार, तिलक केसीबाट १० हजार, कृष्ण भट्टराईबाट ५ हजार, राजकुमार केसीबाट ५ हजार, देबका भट्टराईबाट ५ हजार र कृष्णबहादुर भट्टराईबाट प्राप्त ५ हजारले झ्याल ढोकामा फलामको रड लगाउने तयारी भइरहेको छ । 

    kalika basic school (iv).jpg

    हरेक सहयोगीलाई विद्यालयले क्रमशः सम्मान गरिरहेको छ । ‘नेतृत्वले संस्थामा कति फरक पार्दछ’ भन्ने उदाहरण कालिका आधारभुत विद्यालयमा देखिएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले बताए ।

    २०३४ सालमा स्थापना गरिएको कालिका आधारभुत विद्यालयमा हाल ५३ जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये अधिकांश दलित छन् ।

    सम्बन्धित समाचार