सोमवार, चैत्र १९ २०८०
नेपाल वाइड
खोटाङ, २० चैत । टाउकोमा पानी जम्ने समस्याले ग्रसित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका रामकुमार थापाको उपचार गर्न आर्थिक समस्या भएको छ । थापाको टाउकोमा पानी जम्ने समस्या पूष्टि भएको महिनौं बिते पनि खर्च अभावमा उपचार अड्किएको छ ।
सुरुमा झार उखाल्ने क्रममा दाहिने आँखामा किरा पसेको निहुमा थापाको आँखा बन्द भएको थियो । आँखा बन्द भएपछि उनको क्रमशः टाउको दुख्ने समस्या सुरु भएको आमा लक्ष्मीकुमारी थापाले बताईन् ।
उपचारका लागि तिलगंगा आखाँ अस्पताल, काठमाडौं हुँदै भक्तपुरको एमआईसी अस्पताल पुगेपछि थापाको टाउकोमा पानी जम्ने समस्या पूष्टि भएको हो । अस्पतालले अप्रेसन गर्न इन्डिया लैजान सिफारिस गरे पनि उनी आर्थिक समस्याले घरैमा थलिएर बस्न वाध्य बनेका छन् । अस्पताल जाने खर्च व्यवस्थाका लागि थापा परिवारले सहयोगको याचना गरिरहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले थापालाई अन्यत्र लगेर उपचार गर्ने व्यवस्थाका लागि सहयोग गर्नका लागि फागुन ३० गते सहयोग–पत्र दिएका छन् । सोही सहयोग पत्र बोकेर आमा लक्ष्मीकुमारीले शुभेच्छुकसँग सहयोग मागिरहेकी छन् । थापा हाल श्रीमतीसहित काठमाडौंमा मजदुरी काम गर्दै बसिरहेका छन् ।