Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामुदायिक स्कुलमा विपन्न र दलित मात्रै

    सामुदायिक स्कुलमा विपन्न र दलित मात्रै


    • मंगलवार, चैत्र २० २०८०

    • दमन राई


    सामुदायिक स्कुलमा विपन्न र दलित मात्रै
    लफ्याङको शारदा आधारभुत विद्यालय, दोरुङका छात्र/छात्रा ।

    खोटाङ, २० चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित बालज्योती आधारभुत विद्यालय, सेराको कुल २५ विद्यार्थीमध्ये २० जना दलित छन् । प्रअ उर्मिला कट्वालका अनुसार बालविकास केन्द्रका कुल ६ जना विद्यार्थीमध्ये दलित छात्र ३ जना र दलित छात्रा १ जना छन् । कक्षा १ मा जम्मा ८ विद्यार्थीमध्ये दलित छात्र ४ जना र दलित छात्रा ३ जना छन् ।

    यस्तै, कक्षा २ मा ४ जनामध्ये दलित छात्रा २ जना र दलित छात्र १ जना, कक्षा ३ मा ३ जना विद्यार्थीमध्ये दलित छात्रा १ जना र दलित छात्र १ जना तथा कक्षा ४ का ५ जनामध्ये दलित छात्रा ४ जना छन् ।

    खाल्लेकै कालिका आधारभुत विद्यालय, कात्तिकेमा पनि दलित छात्र/छात्राको बाहुल्यता छ । ५३ जना विद्यार्थीमध्ये ३४ जना दलित समुदायका छन् । प्रअ दुर्लभ खत्रीका अनुसार कक्षा १ मा २५ जनामध्ये दलित छात्र ८ जना र दलित छात्रा ९ जना छन् ।

    कक्षा २ मा ९ जनामध्ये दलित छात्र ६ जना छन् । कक्षा ३ का ६ जना विद्यार्थीमध्ये दलित छात्रा ४ जना र दलित छात्र २ जना अध्ययनरत छन् । कक्षा ४ मा ६ जना विद्यार्थीमध्ये दलित छात्र १ जना र दलित छात्रा ४ जना छन् ।

    यी केही उदाहरण हुन् । गाउँघरका सामुदायिक स्कुल रित्तिदैछन् । त्यी स्कुलमा विपन्न र दलित बालबालिका मात्रै बाँकी देखिन्छन् । कुनै पेशा, व्यवसाय, बैदेसिक रोजगारमा संलग्न वा आर्थिक रुपमा मजबुद अभिभावकले बालबच्चालाई शहरबजार नभए पनि सदरमुकाम लगेर पढाइरहेका छन् ।

    जान्नेबुझ्ने अभिभावकले पनि गाउँका स्कुलबाट आफ्नो बालबच्चा निकालेर अन्यत्र लगेका छन् । जसका कारण गाउँका स्कुलमा आयस्तर कम भएका र दलित समुदायको बालबच्चा मात्रै बाँकी रहन पुगेको हो ।

    विद्यालय क्षेत्रमा अधिकांश दलित समुदाय मात्र बाँकी रहेका कारण विद्यालयमा दलित छात्रछात्रा बढी देखिएको स्थानीय सगरमाथा आधारभुत विद्यालय खाल्लेका विव्यास अध्यक्ष यादवसेन राई बताउँछन् । “अरु समुदाय बसाई सरेर अन्यत्र गइसके । विद्यालयको क्याचमेन्ट एरियामा दलित समुदाय मात्र बाँकी छन्,” विव्यास अध्यक्ष राईले भने, “धेरैजसो दलित समुदाय पहुँचबाहिर भएकाले गाउँमै छन् । स्कुलमा उनीहरुकै बालबच्चा बढी देखिनु स्वभाविक हो ।”

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सालपीदेवी आधारभुत विद्यालय, खर्कडाँडामा जम्मा ५४ विद्यार्थीमध्ये २० जना दलित छन् । प्रअ भागवत घिमिरेका अनुसार वालबिकास केन्द्रमा १२ जनामध्ये दलित ५ जना, कक्षा १ मा ११ मध्ये दलित ५ जना, कक्षा २ मा ६ जनामध्ये दलित २ जना, कक्षा ३ मा ६ जनामा दलित ५ जना, कक्षा ४ मा ७ जनामा दलित १ जना र कक्षा ५ मा १२ जनामध्ये दलित ५ जना छन् ।

    आर्थिक रुपमा अन्यत्र लगेर पढाउन सक्ने अवस्था नभएका कारण विद्यालयमा दलित बालबच्चाको संख्या बढी देखिएको प्रअ घिमिरेले बताए । लफ्याङकै शारदा आधारभुत विद्यालय, दोरुङलाई पनि दलित विद्यार्थीले धानेको छ ।

    महिलाले हाँकेको विद्यालय

    खाल्लेस्थित बालज्योती आधारभुत विद्यालय, सेरामा शिक्षक तथा कर्मचारी महिला मात्रै छन् । २०५६ सालमा स्थापना गरिएको विद्यालयमा प्रअ उर्मिला कट्वाल, बालकक्षा शिक्षक अञ्जना राई, वडा कार्यालयको अनुदानमा सलिता चापागाई र कार्यालय सहयोगी चन्द्रकला श्रेष्ठ कार्यरत छन् ।

    कट्वाल प्राशि राहत दरबन्दीका हुन् । प्राशि स्थायी दरबन्दीका सञ्जित राईलाई काजमा खाल्लेकै वशन्त आधारभुत विद्यालय, सुन्तलाबारीमा लगिएको वडाध्यक्ष खगेन्द्र राईले बताए ।

    सम्बन्धित समाचार