बुधवार, चैत्र २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माबि बुवालुङमा स्मार्टबोर्ड र टिभी खरिद नै नगरी फरफारक गरेको खुलेको छ । ‘स्मार्ट माबि योजना’ अन्तरगत आर्थिक वर्ष २०७७/०७८ मा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त पाँच लाखमा ६५ ईन्चको एक थान एलइडी स्मार्टबोर्ड र ५५ ईन्चको दुई थान एलइडी टिभी खरिद नै नगरी फछ्र्यौट गरेको खुलेको हो ।
विद्यालयले २०७८ जेठ ९ गते कुनाल स्टोर इटहरी वेस्टलाईनबाट ३ लाख ७ हजार ७९ रुपैयाँको एक थान इन्टरेक्टिभ एलइडी मनिटर र १ लाख ३३ हजार ९६ रुपैयाँको दुई थान एलइडी टिभी खरिद गरेको उपलव्ध बिलमा देखिन्छ । तर कागजमा खरिद गरेर फरफारक गरिसकिएको स्मार्टबोर्ड र टिभी गत चैत १५ गते मात्रै विद्यालयमा आइपुगेको व्यवस्थापन समितिका अध्यक्ष रोशनराज राईले बताए ।
कुनाल स्टोरको सोही बिल राखेर विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गरिएको थियो । फरफारक र लेखा परीक्षण गर्न कुनाल स्टोरको बिल पेश गरिए पनि स्मार्टबोर्ड र टिभी भने दिक्तेलको एक सप्लायर्सबाट लगिएको छ ।

कागजमा खरिद गरिसकिएको भनिएको स्मार्टबोर्ड र टिभी दुई वर्षपछि विद्यालयमा आइपुग्दा खैलाबैला मच्चिएको छ । कुनाल स्टोर इटहरीका सञ्चालक बलराम भण्डारीले पनि आफ्नो सप्लायर्सबाट ‘बिल लगेको तर स्मार्टबोर्ड र टिभी नलगेको’ बताएका छन् । “मन्त्रालयकै कर्मचारी बिनोद भण्डारीले बिल पठाइदिँदै गर्नु सामान पछि पठाउँदा हुन्छ भन्नु भो । वर्षाको बेलामा तत्काल सामान पठाउन सकिएन,” भण्डारीले भने, “पछि स्कुलको सरले सामान पठाउन सक्नुभएन हामीले अरुतिरबाट सामान लियौं भन्नुभो । त्यो बिल हाम्रो हो तर सामानचैं होईन । भ्याटको पैसा अहिलेसम्म पाएका छैनौं ।”
२०७८ असार ७ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले ‘कोटेसन माग गरे बमोजिम कुनाल स्टोरले विद्यालयमा सामान ल्याएर व्यवस्थापन गरिसकेको भन्दै योजना फरफारक गर्न जाने’ निर्णय गरेको थियो ।
विव्यासको २०७७ चैत ४ गतेको बैठकले कार्यक्रम सम्झौताका लागि तत्कालिन शिक्षक गोपाल राउललाई जिम्मा दिने र २०७७ चैत ८ गतेको बैठकले कोटेसन आव्हान गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रअ रेखादेवी बस्नेत र व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर राउत थिए । बस्नेतले फागुन १८ गते अनिवार्य अवकास पाएपछि हाल अन्नपूर्ण माविमा पेशल राई प्रअ बनेका छन् । स्मार्टबोर्ड र टिभीकै विषयले बरबुझारथका क्रममा झमेला निम्तिएको प्रअ राईले बताए ।
फरफारक गरेको दुई वर्षपछि स्मार्टबोर्ड र टिभी दाखिला गर्न ल्याइएको विषयमा प्रतिक्रिया लिन फोन गर्दा पुर्वप्रअ बस्नेतले ‘भोली भेटौंला’ भनेर टारेकी छन् । शिक्षक राउलले भने कुनाल स्टोरले भने अनुसार दिक्तेलबाट स्मार्टबोर्ड र टिभी विद्यालयमा पुगेको बताए । “म बीचैमा अर्को स्कुल गएँ । जाने बेला प्रअलाई सामान छ, त्यहाँ गएर ल्याउनु होला भनेर हिँडेको थिएँ,” राउलले भने, “कुनाल स्टोरले बेलामा सामान पठाउन सकेन । पछि दिक्तेलमा भन्देको छु भनेको थियो । अहिले अनेक आरोप लगाइरहेको रहेछ ।”
बिलभन्दा फरक स्मार्टबोर्ड
अन्नपूर्ण माबिवमा बिलमा उल्लेख भए अनुसारको स्मार्टबोर्ड नआएको व्यवस्थापन समितिले जनाएको छ । बिलमा ओपीएस कम्प्यूटर आइफाइभ फोर जिबी १२८ जिबीको एलइडी मोनिटर उल्लेख भए पनि विद्यालयमा आइपुगेको स्मार्टबोर्डमा फोर प्लस ३२ जिबीको मात्रै उल्लेख छ । कार्टुनमा टिपेस लगाएर ‘फोर प्लस ३२ जिबी’लाई छोपेको पाइएको विव्यास अध्यक्ष राईले बताए ।
‘स्पेशिफिकेसन’ भन्दा फरक किसिमको स्मार्टबोर्ड ल्याइएको भन्दै विव्यासले आवश्य जाँचबुझका लागि चैत १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा निवेदन पेश गरेको छ ।