Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घट्टेकुलो सिचाई योजनाको कुलो इस्टीमेट विपरित, पेश्की लगे पनि राईकुलोको काम भएन

    घट्टेकुलो सिचाई योजनाको कुलो इस्टीमेट विपरित, पेश्की लगे पनि राईकुलोको काम भएन


    • बिहिवार, चैत्र २२ २०८०

    • नेपाल वाइड


    घट्टेकुलो सिचाई योजनाको कुलो इस्टीमेट विपरित, पेश्की लगे पनि राईकुलोको काम भएन
    घट्टेकुलो सिचाई योजनाको कुलो भत्काउँदै मेयर तीर्थराज भट्टराई ।

    खोटाङ, २२ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित घट्टेकुलो सिचाई योजनाको कुलो प्राविधिक इस्टीमेट विपरित बनेको पाइएको छ । संघिय सरकार, प्रदेश सरकार, स्वीस सरकार विकास सहयोग, नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सुरु गरिएको घट्टेकुलो सिचाई योजनाको नहर स्टीमेट विपरित बनेको पाइएको हो ।

    साना सिंचाई कार्यक्रम अन्तरगतको नहरको दुईतिरको साईड ढलानमा ठाडो पारेर राखिने रड २० सेन्टिमिटरको दुरीमा राख्नु पर्नेमा २६ सेन्टिमिटरदेखि २९ सेन्टिमिटरसम्मको दुरीमा राखेको पाइएको हो । नगरपालिका र साना सिंचाईका प्राविधिक, जनप्रतिनिधि र स्थानीयको टोलीले स्थलगत अवलोकन गर्दा इस्टिमेट अनुसार कुलो नबनेको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    चैत २० गते अनुगमनका क्रममा मेयर भट्टराईले इस्टीमेट अनुसार रड राखे/नराखेको यकिन गर्न कुलोको तीन/चार ठाउँमा मार्तोलले हानेर ढलान भत्काएका थिए । साना सिंचाई कार्यक्रमका क्लष्टर संयोजक रमा मगरका अनुसार कतिपय ठाउँमा इस्टीमेट अनुसार रड राखेको तर कतिपय ठाउँमा इस्टीमेट विपरित रड राखेको पाइएको छ ।

    चैत १९ गते स्थलगत अनुगमनमा गएकी क्लष्टर संयोजक मगर ‘गुणस्तर सुनिश्चित नहुन्जेल निर्माण कार्य स्थगित गर्न’ सुझाव दिएर फर्किएकी थिईन् ।

    मेयर संयोजकत्वको साना सिँचाई कार्यक्रम कार्यान्वयन समितिले प्राविधिक इस्टीमेट विपरित बनेको कुलो पुःननिर्माण गरी इस्टिमेट बमोजिम कार्य भएको प्रतिवेदन पेश नभएसम्म थप भुक्तानी नदिने निर्णय गरेको छ ।

    पेश्की वापत लगेको रकमले प्राविधिक इस्टिमेट बमोजिम कुलो बनाइएको प्रतिवेदन पेश नभए पेश्की रकम तत्काल असुल उपर तथा फस्र्यौटका लागि जिल्ला प्रशासन कार्यलय लगायत अन्य निकायमा पत्राचार गर्ने निर्णय गरिएको मेयर भट्टराईले बताए ।

    कुल ५७ लाख ८२ हजारमा २०८१ बैसाख २० गतेसम्ममा सक्नेगरी उपभोक्ता समितिले गत २०८० पुस ८ गते घट्टेकुलो सिचाई योजनाको सम्झौता गरेको थियो । उपभोक्ता समितिको ५ लाख ७८ हजार, नगरपालिकाको ११ लाख ५६ हजार, प्रदेश सरकारको ११ लाख ५६ हजार, संघीय सरकारको ११ लाख ५६ हजार र स्वीस सरकारको १७ लाख ३४ हजार लागत साझेदारीमा आयोजनाको काम अघि बढेको हो ।

    पेश्की लगियो तर काम गरिएन

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाकै राईकुलो सिँचाई योजनाको उपभोक्ता समिति अध्यक्ष सहित तीन जनालाई पेश्की रकम फिर्ता गर्न पत्राचार गरिएको छ ।

    पेश्की रकम लगे पनि सिँचाई योजनाको काम अघि नबढाएको भन्दै उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई सो रकम बैंक दाखिला गरी सक्कल भौचर नगरपालिकामा पेश गर्न पत्राचार गरिएको मेयर भट्टराईले बताए ।

    कुल ६८ लाख ३६ हजारमा सम्पन्न हुने आयोजनाको कामका लागि उनीहरुले गत पुसमा पेश्की झिकेका थिए । उपभोक्ता समिति अध्यक्षको नाममा ९ लाख १८ हजार ३००, कोषाध्यक्षको नाममा ५० हजार र सचिवको नाममा ३ हजार रकम गएको देखिएको छ ।

    उपभोक्ता समितिले हालसम्म केही सोलिङ गरेको र केही निर्माण सामग्री ल्याएको पाइएको छ । आगामी २०८१ असार १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८० पुस १८ गते राईकुलो सिँचाई योजनाको सम्झौता गरिएको थियो ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित राजकुलो सामातुङ सिंचाई कुलो योजनाको काम इस्टिमेट बमोजिम गुणस्तरयुक्त भए नभएको प्राविधिक टोली सहित स्थलगत अनुगमन गर्ने र टोलीको प्रतिवेदनका आधारमा कारबाही गर्ने तयारी गरिएको मेयर भट्टराईले बताए ।

    सम्बन्धित समाचार