शुक्रवार, चैत्र २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ चैत । खोटाङमा एसइई परीक्षामा मोबाईल प्रयोग गरेर चिट चोरिरहेको अवस्थामा तीन परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना माबि केन्द्रमा मोबाईल प्रयोग गरेर चिट चोरी रहेको अवस्थामा तीन परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोबाईलले प्रश्न–पत्रको तस्बीर खिचेर “कक्षा १० एसइई ग्रुप” नामको मेसेञ्जर ग्रुपमार्फत आउट गर्ने र बाहिरबाट उत्तर तयार पारेर फोटो पठाएपछि सार्दैगरेको अवस्थामा परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
परीक्षा हलभित्र मोबाईल लगेर चिट चोरी गर्ने परीक्षार्थीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र डिएसपी खड्का सम्मिलित टोली अनुगमनमा पुग्दा तीन विद्यार्थी परीक्षाको मर्यादाविपरित चिट चोरी गरिरहेको अवस्थामा फेला परेका थिए ।
बिहिबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा तीन विद्यार्थीले मेसेञ्जर ग्रुपबाट चिट चोरी गरिरहेको भेटिएको थियो ।