Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चतुरभक्तलाई खोटाङ नागरिक सम्मान, रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान

    चतुरभक्तलाई खोटाङ नागरिक सम्मान, रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान


    • शनिवार, चैत्र २४ २०८०

    • नेपाल वाइड


    चतुरभक्तलाई खोटाङ नागरिक सम्मान, रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान
    सम्मान तथा पुरस्कार थाप्दै चतुरभक्त राई (वायाँ) र चन्द्र रानोहँछा (दायाँ) ।

    खोटाङ, २४ चैत । खोटाङ सेवा समाज बेलायतले ‘खोटाङ नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । हाल बेलायत बसोबास गरिरहेका खोटाङ्गे अगुवाले सन् २००७ मा स्थापना गरेको खोटाङ सेवा समाज बेलायतले शिक्षाविद एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान तथा कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

    खोटाङ सेवा समाज बेलायतले गत चैत १६ गतेदेखि चैत २३ गतेसम्म खोटाङका १० स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिबिर समापनको अवसरमा शनिबार ‘खोटाङ नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।

    शनिबार शुभम फाउण्डेसनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य रामकुमार राईले शिक्षाविद एवं समाजसेवी राईलाई नगद एक लाख राशी र ताम्रपत्र सहितको नागरिक सम्मान तथा कवि रानोहँछालाई नगद ५० हजार राशी र ताम्रपत्र सहितको प्रतिभा पुरस्कार हस्तान्तरण गरेका छन् ।

    शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रानोहँछालाई सम्मान एवं पुरस्कृत गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष बिभागका संयोजक डिल्लीराम राईले बताए ।

    समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्‍याउँदैआएका ६० वर्षमाथिका व्यक्तित्वलाई ‘नागरिक सम्मान’ तथा २० वर्ष माथिका प्रतिभालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गर्दैआएको छ ।

    हालसम्म पहिलो चरणमा कृषिबिज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराती र संगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेबी एबं समाजसेवी ईमानसिं राई र गीतकार टीका चामलीङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौं चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई ‘नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिसकिएको छ ।

    अस्पताल जानका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्याको प्रयास स्वरुप खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई ७ वटा एम्बूलेन्स र त्यसअघि जिल्ला अस्पताललाई एक वटा अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको थियो ।

    यस्तै कोभिड–१९ को महामारीका बेला पनि अक्सिजन लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।

    सम्बन्धित समाचार