आइतवार, चैत्र २५ २०८०
दमन राई
खोटाङ, २५ चैत । खोटाङ र भोजपुरको सिमानामा पर्छ चखेवाभञ्ज्याङ । चखेवाभञ्ज्याङ पुग्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको दुई फरक रुप देखिन्छ । भोजपुरतर्फको सडक पक्की छ, खोटाङतर्फको कच्ची ।
मध्यपहाडी राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड कालोपत्रेको काम अलपत्र छ । मध्यपहाडीको भोजपुर र खोटाङभित्र पर्ने सबै खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड हालसम्म धुलाम्मे छ । चखेवाभञ्ज्याङबाट खोटाङतर्फ लाग्दा धुलो र हिलोको बाटो पार गर्नुपर्छ, जसले खोटाङको नेतृत्वलाई गिज्याइरहेको छ ।
चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे ढिलासुस्तीहुँदा खोटाङ र भोजपुरबीचको यातायात सम्पर्क कष्टकर छ । अलपत्र सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीले चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम अलपत्र पारेको हो ।
सम्झौता म्याद नाघेको ५ वर्ष नाघ्दा समेत ठेकेदार कम्पनीले सडक कालोपत्रेको काम गर्न नसकेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले गत जेठ १४ गते सार्वजनिक सुचना प्रकाशन गरेर ठेक्का सम्झौता तोडेको थियो । त्यसबिरुद्ध निर्माण व्यवसायी उच्च अदालत पुग्यो । अदालतले ‘स्टे अर्डर’ दियो तर निर्माण व्यवसायी हालसम्म काममा नफर्किएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सुचना अधिकारी इन्जिनियर हर्कबहादुर प्रधानले बताए । “स्टे अर्डर नभएको भए नयाँ ठेक्का लाउन सकिन्थ्यो । न ठेकेदारले काम गर्छ, अदालतले टुंग्याइदिँदैन,” इन्जिनियर प्रधानले भने, “सडक उसकै जिम्मामा भएकाले मर्मत गर्न पनि अप्ठ्यारो छ । हामी परेसान भएका छौँ ।”
भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाहीले २०७५ फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सव–बेस, बेस सहित डिबिएसटी सर्फेस सतह सहित सडक स्तरोन्नती गर्ने ठेक्का लगाइएको थियो ।
चखेवाभञ्ज्याङ–सेखुवा खण्डमा कालोपत्रेका लागि बनाइएका कल्भर्ट, स्ट्रक्चर, सब–बेस लगायतका संरचना पुःन भत्किएर उस्तै बनेको बाँझेच्यानडाँडाका स्थानीय ईन्द्र रोकाले बताए । “पिचका लागि अलि–अलि बनेको सडक पनि बिग्रिसक्यो । बाईक हिँड्नै गार्हो भइरहेको छ,” रोकाले भने, “वर्षामा गाडी चल्ने अवस्था छैन । पिच भएका भए खाँदबारीबाट यहीबाटो हुँदै गाडी चल्थ्यो ।”
२०७९ मंसिर १८ गते ठेक्का तोड्न सिफारिस गरेपछि पनि निर्माण व्यवसायी काममा फर्किएको थियो । ठेक्का तोड्न सिफारिस गरेपछि फर्किएको ठेकेदारले कल्भर्ट, स्ट्रक्सचर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो । तर, केही समय काम गरेझैं गरेर ठेकेदार ‘जिल्ल बनाएर’ हिँडेको थियो ।
२०७२ साल चैतदेखि चखेवाभञ्ज्याङदेखि दिक्तेलसम्मको विभिन्न सडकमा कालोपत्रेका विभिन्न चरणका काम थालिएको थियो ।