मंगलवार, चैत्र २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ चैत । खोटाङमा दृष्टिविहिन दम्पत्तीले शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक उत्तिर्ण गरेका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहिन उमेश राई र उनकी श्रीमती सुर्यमायाँ लिम्बूले प्राशि स्थायीमा नाम निकालेका हुन् ।
जन्मजात दृष्टिविहिन दम्पत्तीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्र लिएका छन् । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माबिमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभुत विद्यालयमा सिफारिस भएका छन् ।
केपिलासगढी गाउँपालिकाबाट पदस्थापनको पत्र लिएपछि उमेश राई र सुर्यमायाँ लिम्बू । तस्बीरः नविन राई
लेखक सहयोगी राखेर परीक्षा दिएका दृष्टिविहिन दम्पत्तीले सोमबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ती पत्र बुझेका थिए ।
राई एक वर्षदेखि भगवती माबि बेलबारीमा मावि राहतमा कार्यरत थिए । त्यसअघि उनले दृष्टिविहिनलाई पढाउने पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा सात वर्ष काम गरेका थिए । लिम्बू भने हालसम्म पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यपन गर्थिन् । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।
राई आँखाको उपचारका सिलसिलामा वाल्यवस्थामै धरान झरेका थिए । धरानमा राईको आँखाको ज्योती फर्किएन तर धरानले उचित शिक्षादिक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतिसहित गाउँ फर्केका हुन् ।
राई दम्पत्तीले शिक्षक सेवा आयोगको प्रथम पेपरको परीक्षा धरानमा, दोश्रो पेपरको परीक्षा बिराटनगरमा र अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मोरङमा दिएका थिए ।