मंगलवार, चैत्र २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ चैत । डढेलोले पाईप डढेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको पिप्लेबेँसीमा खानेपानीको समस्या भएको छ । गाउँ नजिकैको हजारे खोला मुहान भएको खानेपानीको पाईड डढेलोले जलेपछि पिप्लेबेँसीमा खानेपानीको आपुर्ती बन्द भएको हो ।
स्थानीय अरअरे सामुदायीक वनबाट सुरु भएको डढेलोले आइतबार साँझ जमिन बाहिर तन्काएर राखिएको खानेपानीको पाईप डढेको हो ।
आपसमा चन्दा उठाएर संकलन भएको पैसाले पाईप खरिद गरेर सञ्चालन गरिएको खानेपानीको पाईप डढेपछि पिप्लेबेँसीका १३ घरलाई खानेपानीको हाहाकार भएको छ । सुरुमा गाउँभन्दा करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट पाईपलाई जमिनमा गाडेर खानेपानी गाउँमा लगिएको थियो । तर पाईपभित्र भरिएको चुनले पानी आउन बन्द भएपछि पुःन अर्को पाईप पाईप खरिद गरेर जमिनबाहिरै राखिएको थियो ।
गत चैत २० गतेदेखि सुरु भएको डढेलोले चैत २५ गते साँझ बाहुनीडाँडाको मैतुङस्थित नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका भलाराज राईको तीन वटा गोठ जलेको थियो । सोही डढेलोले चैत २६ गते दाल्फुका वशन्त राईको बसोबास नभएको रित्तो घर जलेको छ ।
अरअरे सामुदायीक वनबाट पिप्ले पुछार, गुदारा पाखा हुँदै फैलिएको डढेलोले टुटुंगे सामुदायीक वन सखाप बनाएको छ । सो डढेलो चैत २६ गते राती नियन्त्रणमा आएको छ ।