Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘लासमाथिको मानवता’को विषयमा चर्चा परिचर्चा

    ‘लासमाथिको मानवता’को विषयमा चर्चा परिचर्चा


    • बुधवार, चैत्र २८ २०८०

    • नेपाल वाइड


    ‘लासमाथिको मानवता’को विषयमा चर्चा परिचर्चा

    काठमाडौं, २८ चैत । साहित्यकार डा. पुरण राईले लेखेको एकांकी संग्रह ‘लासमाथिको मानवता’को विषयमा अन्तरक्रीया गरिएको छ । नेपाल स्रष्टा समाज नेपालको आयोजनामा ‘लासमाथिको मानवता’को विषयमा अन्तरक्रीया गरिएको हो ।

    नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ (रोदन)को अध्यक्षता तथा वरिष्ठ नाटककार अशेष मल्लको प्रमुख आतिथ्यमा नाटक संग्रहको विषयमा चर्चा परिचर्चा गरिएको हो । भाषा क्षेत्रमा काम गरिरहेका डा. राईलाई रंगकर्मी र विज्ञसँग नजिक ल्याउन नेपाल स्रष्टा समाजले अन्तरक्रिया गरेको हो ।

    प्रमुख अतिथि नाटककार मल्लले राज्यले केही नगरे पनि नाटक विधा फस्टाइरहेको बताए । ‘दक्षिण एसियामा नेपालमा मात्रै लामो समयसम्म नाटक चलेको छ,’ मल्लले भने, ‘नाटक लेख्न जति सजिलो छ । मञ्चन गर्न उत्तिकै गार्‍हो छ । मञ्चमा पुगेपछि मात्रै नाटकले पूर्णता पाउँछ । यस्तो अवस्थामा युवा नाटककार थपिनु सुखद पक्ष हो ।’

    यस्तै, नाट्यकर्मी केदार श्रेष्ठले ‘लासमाथिको मानवता’का नाटकहरुमा वर्गीय समाजको सुन्दर चित्र उतारिएको चर्चा गरे । रंगकर्मी सुलक्षण भारतीले डा. राईका नाटकहरूमा आम नेपालीको भावना समेटिएको बताए । नाटकमै विद्यावारिधि गरेका डा. कान्छी महर्जनले मानिसको स्वार्थ चरित्रविरुद्ध कटाक्ष, अब्बल दर्जाको मातृत्व प्रेम र ग्रामीण परिवेशको सुन्दर चित्रणले नाटक लोभलाग्दो भएको बताइन् ।

    ‘लासमाथिको मानवता’को लेखक ड. पुरण राईले कथा र कवितामा सजिलै भन्न नसकिने कुरालाई नाटकमार्फत प्रस्तुत गरेको बताए । ‘म नाटकमा शिशु हुँ । कविता र कथामा सजिलै भन्न नसकेका कुरालाई नाटकमार्फत प्रस्तुत गरेको छु,’ राईले भने, ‘पाठकहरूले प्रतिक्रिया र सल्लाह सुझाव दिनुभएको छ । मलाई लेखनमा थप हौसला मिलेको छ ।’

    स्रष्टा समाजका सदस्य मधु पाठकले समाजकातर्फबाट पहिलो पटक नाटक विधाको अन्तरक्रिया राख्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।

    समाजका सचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा राससका प्रबन्धक निर्देशक सिद्धराज राई, प्राज्ञ गंगा सुवेदी, तारा सुवेदी, स्रष्टा समाज नेपालका मधेस प्रदेश संयोजक लक्ष्मी श्रेष्ठ रोशनी, जयराम बिडारी, डिल्लीरमण सुवेदी, प्रकाश साउद, मनिष राई, राजेश खनाल, हरिबोल ढकाल, मुरारि सिग्देल, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार