Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ: इन्जिनियरिङमा स्नातक अध्यायनरत दुई छात्रलाई छात्रबृत्ति

    हलेसी तुवाचुङ: इन्जिनियरिङमा स्नातक अध्यायनरत दुई छात्रलाई छात्रबृत्ति


    • बिहिवार, बैशाख ६ २०८१

    • नेपाल वाइड


    हलेसी तुवाचुङ: इन्जिनियरिङमा स्नातक अध्यायनरत दुई छात्रलाई छात्रबृत्ति
    छात्रबृत्ति रकम बुझ्दै छात्र विकेश सिलवाल ।

    खोटाङ, ६ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ विषयमा स्नातक तहमा अध्यायनरत दुई छात्रलाई छात्रबृत्ति प्रदान गरेको छ ।

    आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था भए अनुसार नगरपालिकाले इन्जिनियरिङ विषयमा स्नातक तहमा अध्ययनरत हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका विकेश सिलवाल र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका हेमन राईलाई जनही एक लाखका दरले छात्रबृत्ति प्रदान गरेको हो । छात्रबृत्तिका लागि गत फागुन ६ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनका आधारमा दुई छात्रलाई छात्रबृत्ति रकम प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।

    चिकित्साशास्त्र, कृषि, पशु विज्ञान, वन वातावरण विज्ञान, इन्जिनियरिङ र सूचना प्रविधि विषयमा कम्तीमा स्नातक वा सोभन्दा माथिल्लो तहमा भर्ना भएर अध्यायनरत नगरका जेहेन्दार, आर्थिक रुपले विपन्न, दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी नगरपालिकाले आवेदन आव्हान गरेको थियो । तर, इन्जिनियरिङ विषयका दुई छात्रबाट मात्र आवेदन परेको हो । प्राप्त आवेदनको आधारमा बिहिबार मेयर राई र उपमेयर रमेश राउतले सिलवाल र राई परिवारलाई छात्रवृत्ति रकमको चेक हस्तान्तण गरेका थिए । छात्र सिलवाल आफैले तथा राईकातर्फबाट उनका परिवारले छात्रबृत्ति रकम बुझेका छन् ।

    scholarship for engineering by halesi tuwachung (ii).jpg

    सिलवाल ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेज र राई काठमाडौंको कान्तिपुर इन्र्टरनेश्नल कलेजमा अध्ययनरत छन् । प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि कलेजमा भर्ना भएको प्रमाणको आधारमा छात्रबृत्ति वितरण गरिएको मेयर राईले बताईन् । ‘हामीले पाँच विषयमा कम्तीमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रबृत्ति दिने कार्यक्रम ल्याएका थियौँ । मापदण्ड अनुसार आवेदन दिने सबैले छात्रबृत्ति पाउँछन्,’ मेयर राईले भनिन्, ‘तर इन्जिनियरिङमा मात्रै आवेदन परेको छ । अन्य विषयमा आवेदन परेमा घोषित छात्रबृत्ति उपलव्ध गराउने छौँ ।’

    नगरप्रमुख संयोजकत्वको पाँच सदस्यीय छात्रवृत्ति छनौट तथा सिफारिस समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाको निर्णय अनुसार छात्रबृत्ति वितरण गरिएको हो । अन्य विषयको तुलनामा महंगो भए पनि रोजगार सुनिश्चित जस्तै हुने भएकाले नगरपालिकाले प्राविधिक विषयका विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रबृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।

    प्राविधिकतर्फको पढाइमा जेहेन्दार तथा मेहनती तर आर्थिक अवस्था कमजोर भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरि दक्ष प्राविधिक जनशक्ति तथा विशेषज्ञ उत्पादन गर्नका लागि नगरपालिकाले गत फागुन ५ गते ‘हलेसी तुवाचुङ नगरपालिकाको छात्रवृत्ति वितरण कार्यविधि २०८०’ स्वीकृत गरेको थियो ।

    यस्तै, नगरपालिकाको ‘आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमा उच्च तथा प्राविधिक शिक्षा हासिल गर्न चाहने गरिब, जेहेन्दार तथा अभिभावक गुमाएका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिने’ उल्लेख छ ।

    सम्बन्धित समाचार