Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका दुई स्थानीय तहमा मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

    खोटाङका दुई स्थानीय तहमा मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति


    • सोमवार, बैशाख १७ २०८१

    • नेपाल वाइड


    खोटाङका दुई स्थानीय तहमा मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

    खोटाङ, १७ बैसाख । खोटाङका १० स्थानीय तहमध्ये दुई स्थानीय तहले मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पारेको पाइएको छ । हालसम्म हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पारेको पाइएको हो ।

    दलित महिला केन्द्र नेपालले ‘शी लिड्स महिला नेतृत्व’ परियोजना अन्तरगत सोमबार दिक्तेलमा आयोजना गरेको लैंगिक समानता र समावेसीकरण नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले हालसम्म लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार गर्न नसकेको जानकारी दिइएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७९ लाई २०८० मंसिर १० गते वेवसाईटमै प्रकाशित गरिसकेको छ । खोटेहाङ गाउँपालिकाले भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पारेको बताए पनि वेवसाइटमा प्रकाशन गरेको देखिन्न ।

    होटल शुभदिनमा आयोजित कार्यक्रममा नीति अभावमा अधिकांश स्थानीय तहले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बजेट बिनियोजन गर्न नसकेको चर्चा गरिएको छ । पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई नबुझेका कारण सो सम्वन्धी नीति तयार पार्नदेखि बजेट छुट्याउनमा बेवास्ता भइरहेको सहभागीले बताएका छन् ।

    महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति बनाउन प्रस्ताव राख्दा जनप्रतिनिधिले नै अनिच्छा देखाउने गरेको बताइएको छ । पुरुष जनप्रतिनिधि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको बजेटलाई तत्काल रिजल्ट दिने वा देखिने भौतिक पुर्वाधारमा मात्र खर्च गर्न अघि सर्ने गरेका छन् । सहभागीको धारणा सुनेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले भने नगरमा आगामी वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पार्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रत्येक पालिकाबाट प्रमुख, उपप्रमुख, प्रमूख प्रशासकिय अधिकृत, विधायन समितिका संयोजक तथा सदस्य, महिला शाखा, सामाजिक विकास शाखा गरी ६/६ जनालाई बोलाइएको थियो । कार्यक्रममा सहजकर्ता शरु जोशीले समावेशीकरण नीति सम्वन्वन्धी कार्यपत्र प्रस्तुत गरेपछि सहभागी बीच छलफल गरिएको थियो ।

    प्रमुख र उपप्रमुखमध्ये कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई मात्र उपस्थित भएका थिए । उनीहरुको उपस्थितिले पनि स्थानीय सरकार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सवालमा संवेदलशिल नदेखिएको चर्चा भएको थियो ।

    निर्वाचित महिलका वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी ढंगले भूमीका निर्वाह गर्न/गराउन सक्षम बनाउने लक्ष्यका साथ ‘शी लिड्स महिला नेतृत्व’ परियोजनाले नेतृत्व विकाससँग सम्वन्धित विषयवस्तुमा सहजीकरण गर्दैआएको छ ।

    स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा जिल्लाका आठ स्थानीय तहमा ‘शी लिड्स महिला नेतृत्व’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ । 

    सम्बन्धित समाचार