Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा जेठ ३ गते आकर्षक राशीको राष्ट्रिय कविता प्रतियोगीता हुने

    खोटाङमा जेठ ३ गते आकर्षक राशीको राष्ट्रिय कविता प्रतियोगीता हुने


    • मंगलवार, बैशाख १८ २०८१

    • नेपाल वाइड


    खोटाङमा जेठ ३ गते आकर्षक राशीको राष्ट्रिय कविता प्रतियोगीता हुने

    खोटाङ, १७ बैसाख । खोटाङमा आकर्षक राशीको राष्ट्रिय कविता प्रतियोगीताको तयारी भएको छ । दिक्तेलमा आगामी बैसाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’ अन्तरगत जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगीता गर्न लागिएको हो । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा हुने महोत्सवकै एक अभिन्न भागको रुपमा राष्ट्रिय कविता प्रतियोगीताको तयारी गरिएको हो ।

    राष्ट्रिय कविता प्रतियोगीता सञ्चालन गर्ने जिम्मेवारी टेम्के तुवाचुङ प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजलाई दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा राष्ट्रिय कविता प्रतियोगीता गर्न लागिएको सोमबार मुढेस्थित मुन्धुम रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगेन एक्लेले जानकारी दिए ।

    प्रतियोगीतामा प्रतिष्पर्धा गर्न इच्छुक कवि/कवयित्रीले बैसाख मसान्तभित्र निर्णायक मण्डलका सदस्य प्राध्यपक बेदीकुमार राईलाई ९८४२९३२७९० नम्बरमा ह्वाट्स् एपमार्फत रचना पठाउन सक्नेछन् । जुनसुकै ठाउँका कवि/कवयित्रीले जनही पाँच सय शुल्क तिरेर प्रतियोगीतामा सहभागी बन्न पाउने अध्यक्ष एक्लेले बताए ।

    कविता प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुने श्रष्टाले क्रमशः ४० हजार, २५ हजार, २० हजार, १७ हजार, ११ हजार र ७ हजार पाउने आयोजकले जनाएको छ ।

    कविता प्रतियोगीताको अवसरमा टेम्के तुवाचुङ प्रतिष्ठानले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका साहित्यकार जसराज किरातीलाई ११ हजार १११ रुपैयाँ सहित सम्मान गर्ने घोषणा गरेको छ । दिक्तेलको माटिकोरेस्थित कवर्डहलमा हुने कार्यक्रममा मुन्धुम अध्येता भोगीराज चाम्लिङले किरात दर्शन र डिआर पोखरेलले जसमणिसन्त दर्शन सम्वन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

    जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठानले वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव गर्न लागेको हो ।

    महोत्सव अन्तरगत एथ्लेटिक्स (हाफ म्याराथन तथा अन्य दौड), राष्ट्रिय कविता प्रतियोगीता र १८ वर्षमुनिको खुल्ला गायन, खुल्ला राष्ट्रिय कराते प्रतियोगीता हुने प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । करिब ५२ लाखको खर्चमा महोत्सव सम्पन्न हुनेछन् ।

    खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यका साथ खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो ।

    सम्बन्धित समाचार