शुक्रवार, बैशाख २१ २०८१
नेपाल वाइड
खोटाङ, २१ बैसाख । खोटाङको दिक्तेल बजारमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरको तयारी गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल, लाहानको प्राविधिक सहयोग एवं नेपाल नेत्र ज्योति संघ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आगामी बैसाख २९ गतेदेखि बैसाख ३१ गतेसम्म निःशुल्क आँखा शल्यक्रिया शिबिरको तयारी गरिएको हो ।
आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिने शिबिरमा आँखा जाँच, औषधि वितरण, मोतीविन्दुको अप्रेसन, चश्मा वितरण सँगै जेष्ठ नागरिकलाई दृष्टि चश्मा वितरण गरिने नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताए । यस्तै, न्युन दृष्टि भएका बालबच्चा र फरक क्षमता भएका सेवाग्राहीलाई आवश्यकता अनुसार आँखा जाँच, अप्रेसन, औषधि तथा चश्मा वितरण गर्ने तयारी गरिएको छ । निःशुल्क आँखा शल्यक्रिया शिबिरका लागि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, रेडक्रस, उद्योग बाणिज्य संघ लगायतको साथ रहने अध्यक्ष कसजुले जनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करुणा फाउण्डेसन र नेत्र ज्योति संघसँगको सहकार्यमा १५ वटै वडामा निःशुल्क आँखा जाँच, जेष्ठ नागरिकलाई चश्मा तथा औषधि वितरण र मोतिवन्दुको पहिचान शिबिर सञ्चालन गरिरहेका बेला दिक्तेलमा आँखा शल्यक्रिया शिविरको तयारी गरिएको हो ।
वडा–वडामा सञ्चालन गरिएका शिबिरबाट पहिचान भएका आँखाका बिरामीलाई दिक्तेलमा हुने आँखा शल्यक्रिया शिविरमा उपचार सेवा प्रदान गरिने नेत्र ज्योति संघले जनाएको छ ।