Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुर्भाग्य हामी पुग्नु र आमाले प्राण त्याग गर्नु एकै समय परेछ

    दुर्भाग्य हामी पुग्नु र आमाले प्राण त्याग गर्नु एकै समय परेछ


    • बुधवार, बैशाख २६ २०८१

    • सरिता राजभण्डारी


    दुर्भाग्य हामी पुग्नु र आमाले प्राण त्याग गर्नु एकै समय परेछ
    लेखिका

    खोटाङ, २६ बैसाख । कुनै समय एनजिओ, आइएनजिओमा काम गरेँ, त्यही क्षेत्रमा सपना देखेर पुरै १० बर्ष बिताएँ । पछिको समय बिबाह र सन्तानपछि आफ्नो जीवनमा आएको जिम्मेवारीले गर्दा समय अभावको कारणले उक्त क्षेत्र छाड्नपर्‍यो । तत्पश्चात छोराको लागि सकेसम्म बढी समय दिने वातावरण बनाइराखेँ । अहिले छोरा ५ बर्षमा लागिसक्यो ।

    खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिकामा हुर्किएकी मेरो वाल्यकाल रमाइलो र सयलमा नै बित्यो । समय सँगै विवाह भएको ३ बर्षपछि आमा बन्ने भएँ, योजना अनुसार नै भएकोले खुसी थियौँ । त्यो बेला श्रीमान सप्तरी जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो । म भने परिवारसँग काठमाण्डौमा थिएँ । गर्भवती भएको केही महिनापछि श्रीमान आफ्नो सेवा परिवर्तन गरी तेर्‍हथुमको छथर गाउँपालिकामा जानुभयो ।

    समय सहजतापुर्बक बितिरहेको थियो । एक्कासी सारा विश्व नै कोभिड–१९ ले आक्रान्त बन्यो । लकडाउन सुरु भयो र देशैभर अत्यावश्यक बाहेक सबै सेवा ठप्प भयो । सँधै भिडभाड र कोलाहल अनि प्रदुषणयुक्त रहने काठमाण्डौ समेत सुनसान भयो । सबै यातायात समेत ठप्प, आफु चार महिनाको गर्भवती भएकोले केही मात्रामा मन अत्तालियो । श्रीमानसँग कुरा हुँदा कुनै न कुनै तरिकाले काठमाण्डौ आउछु भन्नुभयो । नभन्दै २०७६/१२/१३ गते मोटरसाईकलमा तेर्‍हथुमदेखि काठमाण्डौ आइपुग्नुभयो ।

    एक किसिमले मनमा ढुक्क त भयो तर बाहिर निस्कने अवस्था थिएन । अस्पतालसम्म जान पनि गार्‍यो थियो । कोभिड संक्रमण होला कि भन्ने डरैडरमा २०७७ बैशाख १७ गते नेपाल मेडिकल कलेज, काठमाण्डौमा छोरालाई जन्म दिएँ र आमा बन्ने सौभाग्य पुरा भयो । कोही आफन्त भेट्न आउदा पनि सोधेर आउनु पर्ने, बच्चा कसैले बोकिहालेमा पनि डर लाग्ने गर्दथ्यो । सुत्केरी स्याहार्न भनेर तयारी भएर बसेकी मेरी आमा कोभिड–१९ को लकडाउनकै कारणले आउन सक्नुभएन ।

    असार लाग्यो, आर्थिक बर्षको अन्त्याको नजिक थियो, श्रीमानको कार्यालयको जिम्मेवारीले छोड्ने कुरा भएन । करिव २ महिनाको छोरा र मलाई परिवारसँग छोडेर उहाँ आफ्नो कर्तव्य पुरा गर्न तेर्‍हथुम जानुपर्ने भयो, जानुभयो ।

    सोहि बर्षको भाद्र महिनामा मेरी ठूलीआमा (जोसँग मेरो बाल्यकाल वित्यो) र उहाँको छोरालाई कोभिड–१९ सक्रमण भयो । अस्पताल भर्ना गरेर उपचार थालियो, स्याहार सुसार गर्ने क्रममा परिवारमा सबैलाई कोभिड-१९ को संक्रमण भैसकेको थियो भने आफ्नै आफन्तहरु पनि घरमा आएर सहयोग गर्न डराए । अवस्था पनि त्यस्तै नै थियो । कसैलाई घरमा गुहार्न सक्ने वातावरण नै थिएन । फोनबाट बुझ्न बाहेक केहि गर्न सक्ने अबस्था थिएन । तरीमा (ठुलीआमा)लाई थप गाह्रो भएकोले अस्पताल पुर्‍याइयो । एउटै अस्पतालमा आमा छोरालाई एकै समयमा छुट्टाछुट्टै भेन्टीलेटरमा राखेर उपचार हुँदै थियो । हामी सबै जना भगवानलाई पुकार्दै बसिरहेको थियौँ ।

    दैवलाई कसैले जित्न सकेन, तरीमा (ठुलीआमा) कोभिड-१९ कै कारणले भगवानको प्यारो बन्नुभयो । त्यसको चौथो दिनमा दाईले पनि सोहि अस्पतालमा कोभिड–१९ कै कारण संसार छोड्नुभयो । उक्त समयमा भाउजू पाँच महिनाको गर्भवती हुनुहुन्थ्यो । अवस्था यस्तो थियो कि उहाँहरुको लास छु त के, मुखसम्म हेर्न पाएनौँ । आफ्नै परिवारभित्रको त्यो कहालीलाग्दो घटनाहरुले मनमा थप डर पैदा गरिरहेको थियो ।

    शहरमा भन्दा सामान्य रुपमा गाउँतिर कोभिड संक्रमणको मात्रा कम थियो । त्यसैले विशेष गरी छोराको सुरक्षाको लागि हामीले चार महिनाको छोरा लिएर तेर्‍हथुम जाने निर्णय गर्‍यौँ । मलाई र छोरालाई लिन श्रीमान काठमाण्डौ आउनुभयो । भदौ २१ गते हामी बिहान ५ बजे गाडी चढेर राती ९ बजे तेह्रथुम पुग्यौँ । तेह्रथुमको छथर गाउँपालकामा १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेपछि कोभिड-१९ परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बल्ल ढुक्क भयौँ । जेठानी दिदिहरु, मेरो दिदिहरु र बुहारीले स्याहारिरहेको छोरालाई जानिनजानि हामी आफैले स्याहार–सुसार गर्न थाल्यौं । म मातृत्वको सुनौलो यात्रामा रमाईरहेको थिएँ ।

    कोभिड पनि सामान्य बन्दै थियो, परिवारको सबैसँग दैनिक फोन, भिडियो कल हुन्थ्यो । धेरै चाँही आमासँग कुरा हुन्थ्यो । प्रायः कुरा गर्दा ‘तरीमा (ठुली आमा) जस्तै पुक्लुक्क मरिहालेँ भने त नाति हेर्न पनि पाउदिन होला है’ भनिरहनु हुन्थ्यो । कोभिड संक्रमणमा केही संकुचन आएको थियो । सोहि बर्षको पुष महिनामा आमा लगायत दिदिहरु तेह्रथुमको छथर गाउँपालिका आउने मौका जुर्‍यो र नाति हेर्ने रहर पुरा गरि पुनः घर फर्किनुभयो ।

    समय वित्दै गयो, कोभिडको दोस्रो लहर शुरु भयो । यो पटक ग्रामीण बस्तीमा समेत संक्रमण तिब्र रुपमा फैलिदै थियो । लामो समयदेखि आफ्नो कार्यक्षेत्र पाँचथर बनाउनुभएको मेरो दाईको लकडाउनको कारणले सबै काम बन्द थियो । त्यसैले दाईको लागि यो समय घर बस्ने समय बन्यो । समाजसेवामा रुचि राख्ने मेरो दाई सामान्य सुरक्षा अपनाउदै गाउँका संक्रमितहरुलाई खाना, औषधि लगायतका अत्यावश्यक सामानहरु घरघरमा पुर्‍याउनमा व्यस्त हुनुभयो । २०७८ को असारे झरीसँग जुहारी खेल्दै भएपनि सहयोग र समाजसेवा त गर्नुभयो साथमा आफुमा र आफ्नो बुवा आमामा समेत कोभिड संक्रमण भएको पत्तो पाउनु भएन ।

    आमालाई वाकवाकी लगायत स्वास्थ्यमा सामान्य समस्या देखिएपछि परिक्षण गर्दा तिनै जनामा कोरोना पोजिटिभ देखियो । ठुली आमा र दाई गुमाएको १० महिना हुँदै गर्दा आफु सहित बुवा ममिमा समेत कोभिड-१९ संक्रमण भएपछि मेरो दाई केहि हतोत्साही हुनुभयो र आमाको थप उपचारको लागि हेलिकप्टर नै चार्टर गरी ऐसेलुखर्कबाट काठमाण्डौ लानुभयो । स्वास्थ्य अवस्था सामान्य नै भएपनि पुरानो आफ्नै परिवारभित्रको घटनाको कारणले हामी सबैको मन डराइरहेको थियो ।

    मैले आमा बन्ने शौभाग्य पाएको अस्पतालमा नै मेरो ममीको उपचार भइरहेकोले डाक्टरहरुप्रति विश्वास थियो, तैपनि मनको डरले ठाउँ छोडेन । ममीको स्वास्थ्य अवस्था केहि खस्किएको खबर आएसँगै मनको डर दुगुना भयो । एकातर्फ काखे बच्चा र कोभिडको डरको कारण सबैले मलाई आउनु पर्दैन भनिरहनुभयो । अर्कोतर्फ आर्थिक बर्षको अन्त्य भएकोले श्रीमानको कार्यव्यस्तता सामान्य भन्दा बढी थियो । यी दुवै कारणले तत्काल काठमाण्डौ गइहालिएन ।

    असार २० गते आधा राततिर एक्कासी आमालाई भेन्टिलेटरमा राखिएको खबर आयो । मनको डरले सीमा नाघ्यो, श्रीमानको कार्यालयको कामलाई असर नगर्ने व्यवस्थापन गरी २१ गते विहानै विराटनगर हुँदै काठमाण्डौ हिडेको हामी फ्लाइटमा भएको ढिलाईले बेलुका करीव ७ बजे मात्र काठमाण्डौ पुग्यौं । दुर्भाग्य हामी पुग्नु र आमाले प्राण त्याग गर्नु एकै समय परेछ ।

    जुन अस्पतालमा मैले आमा बन्ने सौभाग्य पाए, सोहि अस्पतालमा मेरो आमाले अन्तिम सास लिनुभयो त्यो पनि ठिक उहाँको जन्मदिनमा । उहाँको अनुहार हेर्न र पार्थिव शरिरलाई छुन पाउने कुरै भएन । अहिले आमा बित्नुभएको चार बर्ष बितिसक्यो, हरेक बर्ष आमाको मुख हेर्ने दिन त आइरहन्छ तर हामीले गुमाएको आमाहरु कहिल्यै फर्किएर आउनुहुन्न ।

    म धेरै मन्दिरहरुको दर्शन गरिरहन्छु तर कहिले भगवानसँग केहि मागिन । केहि दिनअघि मात्र ताप्लेजुङ्गमा रहेको पाथिभरा माताको दर्शन गर्ने मौका मिल्यो । कुनै मन्दिरमा केहि नमाग्ने मैले संसारका सबै आमाहरुको लामो आयु मागेर आएँ । सबै कुराले पुर्ण म सासुआमा र आमाको कमीले अपुर्ण छु ।

    सम्बन्धित समाचार